आन्दोलनकारी नेताले नाकाबन्दीको विरोध गरे
काठमाडौं : भारतीय नाकाबन्दीलाई सघाउन सीमा केन्द्रित आन्दोलनमा सहभागी संघीय समाजवादी फोरम नेपालकै वरिष्ठ नेताले नै नाकाबन्दीको विरोध गरेका छन् ।शुक्रबार बसेको संसद् बैठकमा बोल्दै फोरमका वरिष्ठ नेता अशोक राईले नाकाबन्दीबाट जनताले दुःख पाइरहँदा सरकार टुलुटुल हेरेर बसेको आरोप लगाए ।
‘दुई महिनादेखि जारी आन्दोलनलाई सम्बोधन नगर्नुको परिणाम अहिले उत्पन्न असहज परिस्थिति हो’, राईले भने, ‘जनताको आन्दोलनलाई ओझेलमा पार्ने गरी अहिले सबै विषय नाकाबन्दीसँग जोडिनु गलत हो । आन्तिरक समस्यालाई आन्तरिकरुपमै नहटाएसम्म यस्तो अपमानजनक व्यबहार सधैं खेप्नुपर्छ ।’
संघीय लोकतान्त्रिक मोर्चाका संयोजक तथा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेपाली सीमाना थुन्न जुटिरहेका बेला सोही पार्टीका वरिष्ठ नेता राईले नाकाबन्दीविरुद्ध संसद्मा बोलेका हुन् ।
उनले यस्तो संकटको घडीमा को राष्ट्रवादी, को अराष्ट्रवादी भनेर अल्झिनु भन्दा आन्दोलनकारीसँग वार्ता गरेर चाँडो भन्दा चाँडो निकास दिनुपर्नेमा जोड दिए । annapurnapost.com


0 comments
Write Down Your Responses