वृद्धवृद्धाले दसैँमा सामाजिक सुरक्षा भत्ता पाएनन्
फलेवास (पर्वत) : दसैँ अगावै सामाजिक सुरक्षा भत्ता बुझ्न नपाएपछि पर्वतका वृद्धवृद्धा र एकल महिलाको दसैँ खल्लो भएको छ ।
बैंकले दसैँअगावै सामाजिक सुरक्षा भत्ताको रकम निकासा नदिँदा उनीहरु चाडबाड मनाउनबाट विमुख बनेका हुन् ।
पैसाको अभावमा चाडबाडका बेला राम्रो लुगाफाटो किन्ने र छोरी, ज्वाइँ, नातिनातिनालगायतलाई टीकाटालो गर्ने र घरायसी सामान किन्ने इच्छा पूरा गर्न सकस भएको वृद्धवृद्धाले गुनासो गरेका छन् ।
जिल्ला विकास समितिले असोजको तेस्रो सातानै बैंकलाई भत्ता वितरणका लागि निकासा दिएको भएपनि बैंकले वितरण गर्न नसकेका हुन् ।
नेपाल बैंकमार्फत निजी बैंकको खातामा रकम ट्रान्र्सफर गर्न ढिलाइ भएकाले दसैँअघि भत्ता वितरण गर्न नसकिएको गरिमा विकास बैंक कुश्मा शाखाका प्रबन्धक सुन्दर भण्डारीले जानकारी दिए ।
उनका अनुसार दसैंलगत्तै सबै क्षेत्रका वृद्धवृद्धाले भत्ता पाउने भएका छन् । पर्वत जिल्लामा गत आर्थिक वर्षदेखि पाँच वटा गाविसबाहेक सबै गाविसका बासिन्दालाई बैंकमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण हुँदैआएको छ । रासस
www.annapurnapost.com


0 comments
Write Down Your Responses