‘जसले उक्साए पनि जिम्मेवारी सभापतिले लिनुपर्छ’
आश्विन २७, २०७२- संविधान घोषणाका बेला अधिक उत्साहित कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला यतिखेर निकै खिन्न छन् । दलीय नेताहरुबीचको ‘भद्र समझदारी’ विपरीत अन्तिममा जसरी सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार बन्न पुगे, त्यसबाट सिटौला अधिक असन्तुष्ट छन् । सँगै तीन दलबीचको कसिलो गठबन्धन पनि प्रधानमन्त्री निर्वाचनसँगै टुटेको छ । संविधान जारी भएपछि ‘एक मिनेट पनि पदमा रहन्नँ’ आफ्नै अभिव्यक्तिविरूद्ध उम्मेदवारी दिएपछि कांग्रेसमा निराशा मात्रा बढेको छ । कोइरालाले उम्मेदवारी दिनुको कारण, प्रमुख विपक्षी बन्दै गरेको कांग्रेसको भावी रणनीतिलगायतका सवालमा मंगलबार बिहान कान्तिपुरका लागि हरिबहादुर थापा र कुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

संविधान निर्माणमा कसिलो बनेको प्रमुख तीन दलबीचको एकता सरकार निर्माणसँगै तोडिनुको कारण के हो ?
दोष अर्कातिर पन्छाएर आफ्नो गल्तीको ढाकछोप गर्न म चाहन्नँ । हाम्रो पार्टीको केन्द्रीय कार्यसमिति त्यसमा पनि मभन्दा माथिको नेतृत्व तहको विश्लेषण गलत भएकै कारण यस्तो भएको हो ।

सुशील कोइरालालाई आफू प्रधानमन्त्री बन्न भन्दा पनि पार्टीभित्रै अर्को शक्ति केन्द्र खडा नहोस् भनी देउवा या पौडेललाई रोक्नका निम्ति उम्मेदवारी दिनुभएको हो भन्ने टीकाटिप्पणी पनि आएका छन्, यसमा कत्तिको सत्यता छ ?
यसरी सोच्नुभएको भए ठूलो गल्ती हो । मलाई यस्तो संकेत गर्नुभएको छैन । प्रधानमन्त्री चयन गर्ने अघिल्लो दिन रातिसम्म म बालुवाटारमा थिएँ । मलाई उहाँ उठ्नुहुन्छ कि भन्ने ठूलो चिन्ता थियो । राति ९ बजे प्रधानमन्त्रीमा उठ्दिनँ भनेपछि म घर आएको थिएँ । शेरबहादुरजी र रामचन्द्रजी कसलाई बनाउने त भनेर सोधेँ । त्यसको जबाफ उहाँले दिनुभएन । भोलिपल्ट एकैचोटि ११ बजे सुशील कोइराला उठ्ने भए भन्ने थाहा पाएको हो । ककसले उहाँलाई उठाएका थिए, उनीहरूले नै किन उठाएका हुन्, जबाफ दिनुपर्छ ।

महामन्त्रीभन्दा माथिको नेतृत्वले गलत गर्‍यो भन्नुभएको हो ?
सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले मिलेर गरेको निर्णयलाई पार्टीभित्र सबैका निम्ति मान्य हुने पद्धति बसालेका छौं । यसपटक पनि हामीले विश्वास गरी तीन नेतालाई जिम्मेवारी दियौं । पदाधिकारीबीच पनि छलफल नभएको होइन । पदाधिकारी बैठकमा मेरो, प्रकाशमान सिंह, पूर्णबहादुर खड्काको एउटा मत थियो ।

हामी सरकार निर्माणका बखत र संविधान निर्माण हुँदा भएको ‘भद्र समझदारी’ अनुसार एमाले नेतृत्वमा नै संयुक्त सरकार बनाउनु उपयुक्त हुन्छ भन्नेमा थियौं । तीन दलको सहमतिबाट संविधान आएपछि यसको कार्यान्वयन चरण झनै जटिल छ । जटिलता सहज बनाउन पनि संविधान ल्याउने राजनीतिक दलहरूबीचको एकता अनिवार्य हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो । केन्द्रीय कार्यसमितिको बैठक र पदाधिकारीबीच मैले जसको नेतृत्वमा सरकार बनाए पनि बहुमतको बनाउनु हुन्न भन्नेमा जोड दिएको थिएँ । पार्टीमा हाम्रो विचार असफल हुन पुग्यो ।

म आफ्नै सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बन्दा संविधान निर्माणमा सहयोग गर्छु, सरकारमा जान्नँ भनेरै संविधान निर्माणमा लागेको थिएँ । संविधान निर्माणको विभिन्न आरोह/अवरोह र भद्र समझदारीलाई सम्झेर नै हामीले एमाले नेतृत्वमा संयुक्त सरकार बनाउनुपर्छ भन्ने मान्यता अघि बढाएका थियौं । हाम्रो मान्यतामा नेतृत्व ल्याउन सकिएन । यो हाम्रो पनि कमजोरी रह्यो ।

भद्र सहमतिचाहिँ भएकै हो नि ?
लिखित त होइन । अब यो विषय धेरै उठाउन उपयुक्त हुन्न । यो विषय इतिहासको गर्तमा पुगिसक्यो ।

तपाईंले बुझेको नेताहरूको विश्लेषण कस्तो थियो त ?
नेपाली कांग्रेसको नेतृत्वमा सहमतिकै सरकार बन्न सक्छ भन्ने विश्वास थियो । तर त्यो विश्वासमा नभएर भ्रम सीमित हुन पुग्यो । सहमतिको होइन, बहुमतको पनि सरकार बन्न सक्ने अवस्था थिएन । यो परिस्थितिबारे हामीले राम्रोसँग कुरा राखेका थियौं । पदाधिकारी बैठकमा त खुलेरै धेरै प्रस्ट पारेका थियौं । तर, सुशील दा, रामचन्द्रजी ‘कन्भिन्स’ हुन सक्नुभएन । वरिष्ठ नेता शेरबहादुरजीले संसदीय दलको नेताको निर्वाचनकै माग गर्नुभयो । महामन्त्रीले सहमति भन्ने, सभापतिले भएको छैन भनेपछि समस्या पर्‍यो । म ठूलो समस्यामा परेँ पनि ।

सुशील कोइरालाले अहिलेको परिस्थिति नबुझ्नुभएको हो या उहाँलाई कुनै शक्तिले बाध्य पारेको हो ?
राम्रो हुँदा आफूले गरेको हुने, नराम्रो हुँदा अरूले गर्दा भनी दोष दिन म चाहन्नँ । जे निर्णय गर्दा पनि आफ्नो स्वविवेक, पार्टी र राष्ट्र हेरेर गर्नुपर्छ । कहिलेकाहीं गल्ती हुन्छ । इतिहासमा नेताहरूले यस्तो गल्ती गरेका छन् । तर, गल्ती गरिसकेपछि पार्टी र राष्ट्रलाई अब यस्तो गल्ती हुँदैन भनेर सच्याएर अघि बढ्नु बुद्धिमानी हुन्छ ।

असफल भएपछि निर्णयकर्ताले सामान्य नैतिकता पनि प्रर्दशन गर्नुपर्ने होइन र ?
मूल्यको राजनीति गर्ने सबै राजनीतिक दल र नेतालाई नैतिकता बहुमूल्य हुनुपर्छ । नैतिकताबिनाको राजनीतिले देशलाई अघि बढाउन सकिँदैन । राजनीतिमा नैतिकता छोडेपछि राजनीति नै रहन्न ।

त्यसो भए सुशील कोइरालाले पार्टी सभापति या संसदीय दलको नेताबाट राजीनामा दिनुहुन्छ त ?
यो विषयमा बोल्दा उपयुक्त हुँदैन । हामी छलफल गर्छौं । सभापतिजीले सोच्नुपर्ने विषयमा म नबोलौं । यही विषयका आधारमा राजीनामा दिनुपर्छ जस्तो मलाई लाग्दैन । अब हाम्रो तयारी १३ औं महाधिवेशनतिर हुने छ । गाउँदेखि नै महाधिवेशन सुरु हुन्छ । यतैतिर हामी सबैको ध्यान जान्छ ।

प्रधानमन्त्रीको उम्मदेवार बन्न कोइरालालाई कहाँबाट कस्तो खालको दबाब आएको थियो ?
पार्टीभित्र हामी केन्द्रीय तहका साथीहरूमा केही मतभेद रह्यो । कुन साथीले उहाँलाई उम्मेदवार बन्न उक्साए भनी मेरो मुखबाट भन्न चाहन्नँ । जसले उक्साए पनि यसको जिम्मेवारी अन्तत: सभापतिजीले लिनुपर्छ । सुशील दाले मेरो निष्कर्ष गलत थियो भन्दै यस्तो गल्ती नदोर्‍याउने प्रतिबद्धता व्यक्त गर्नु माहनता हुन्छ । म आफैंलाई पनि उहाँलाई किन मनाउन सकिनँ भनी आश्चर्य लाग्छ । १२ बुँदे समझदारीदेखि संविधान घोषणासम्मको हरेक निर्णायक घडीमा नेताहरूलाई मनाउन सफल भएको थिएँ । तर, सत्ताको खेलमा मनाउन सकिनँ । यतिखेर मेरो सोच, लाइन हारेको महसुस गरिरहेको छु । मतदान गर्न जाँदा पनि यो गल्ती भयो भनेर मैले अनूभूति गरिरहेकै थिएँ । तर, पार्टीले निर्णय लिइसकेपछि त्यसको अनुशासन पालना गर्नु हरेकको दायित्व हो ।

सुशील कोइरालाले हारेपछि त तपाईंको लाइनको जित भएन र ?
त्यो त नेतृत्वले कसरी लिन्छ भन्नेमा भर पर्छ । ००७ सालको क्रान्तिदेखि संविधान जारी गर्दासम्मको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्‍यो । सुशील कोइरालको नेतृत्वमा संविधान जारी गर्न पाउँदा पार्टीकै लागि अत्यन्त गौरवको विषय भइरहेको थियो । तर, सत्ताको खेलमा आएपछि हामी निजी स्वार्थबाट माथि उठ्न सकेनौं ।

पहिला कांग्रेस कार्यकर्ता चुनाव हार्दा निराश हुन्थे, यसपालि उम्मेदवारी दिँदा निराश भए, के कारणले यस्तो भयो ?
चार दलका नेताबीचमा भद्र समझदारी भएपछि फास्ट ट्रयाकबाट संविधान आउँछ भनी नेताहरूले बोल्दै जानुभयो । स्वयं हाम्रा पार्टी सभापति सुशील कोइरालाले सार्वजनिक रूपमै संविधान जारी भएपछि एक सेकेन्ड पनि सरकारमा रहन्नँ भन्दै आउनुभयो । त्यसैले तमाम कार्यकर्तालाई संविधान कांग्रेसको नेतृत्वमा आउँछ र त्यसपछि उहाँ पुन: प्रधानमन्त्रीमा उठ्नुहुन्न भन्ने पर्‍यो ।

आम कार्यकर्तालाई पनि उहाँको पुन: उम्मेदवार अनपेक्षित र अप्रत्याशित भयो । मसमेत छक्क परें भने साथीहरूलाई पर्नु स्वाभाविक हो । अब त्यस्तो परिस्थितिमा बस्न हुन्न । यो सामान्य दुर्घटना भएको हो । सधैं खिन्न भएर बस्न पर्दैन । बिनाकांग्रेस देश अघि जान सक्दैन, यो सबैले बुझ्नुपर्छ ।

सुशील कोइरालाको व्यक्तिगत स्वार्थ हावी भएको हो कि संविधान घोषणासँगै बढेको उनको उचाइ समाप्त पार्ने कुनै शक्तिको खेल थियो ?
यसको विश्लेषण सुशीलदा’कै मुखबाट हुनु अत्यन्त उपयुक्त हुन्छ । उहाँलाई ककसले उठाए, यसमा कोको सहभागी छन् भन्नेमा म प्रवेश गरेको छैन । नीतिगत रूपमा मेरो फरक मत रहे पनि उम्मेदवारी बनाउने घेराभित्र बस्न मेरो नैतिकताले दिएन । त्रिशंकु संसद्मा पारदर्शी ढंगले बहुमत पुग्दैन भने अपारदर्शी ढंगले बहुमत पुर्‍याउने खेलमा लाग्न हुँदैन । यो मेरो मान्यता हो ।

संसदीय अभ्यासमा ०५२ देखि ०५५ सम्म अत्यन्त गलत अभ्यास भएको थियो । यसबाट मुलुकले ठूलो दु:ख बेहोर्नुपर्‍यो । लोकतान्त्रिक मूल्यमान्यतालाई ठूलो नोक्सान पुर्‍यायो । नेपाली कांग्रेसले बहुमत पुग्दैन भन्ने पारदर्शी तथ्य थाहा पाइसकेपछि अपारदर्शी रूपमा सामेल हुनुहुन्थेन । तथापि सभापतिलगायत उपसभापति र वरिष्ठ नेतै त्यो बाटोमा लागिसकेपछि सोच्ने परिस्थिति भएन । भोलिका दिनमा पनि पारदर्शी ढंगले सत्ताको खेल खोल्नुपर्छ भन्ने मेरो मान्यता छ ।

सुशील कोइरालालाई उठाउन दक्षिण छिमेक भारतको ठूलो भूमिका रहेको बाहिर प्रचारित भइरहेको छ । वास्तविक कुरा के हो ?
यसको उत्तर तिनैले दिनुपर्छ, जसले सुशील कोइरालालाई उठाउन पार्टीभित्रै प्रेरणा दिए । यतिबेला आएर मित्रराष्ट्रप्रति विष वमन गर्ने बेला होइन । सुशील कोइरालाकै कार्यकालमा मधेस आन्दोलन भयो । हिंसात्मक गतिविधि भयो । नाकाबन्दी भयो । जनताले ठूलो कष्ट बेहोर्नुपर्‍यो । तिनै प्रधानमन्त्री सुशील कोइरालालाई फेरि प्रधानमन्त्री बन्छन् भनी विश्वास गर्नु नै आश्चर्यचकित विषय हो । मैले बुझ्न नसकेको विषय यहीँनेर थियो । यो विषय मैले पार्टीमा पनि राखेको थिएँ ।

संविधानसभा बहिष्कार गरी आन्दोलनरत मधेस केन्द्रित दलहरूसमेत संसद्मा फर्केर मताधिकार प्रयोग गर्नुलाई तपाईं कसरी लिनुहुन्छ ?
यसमा नकारात्मक टिप्पणी गर्न हुन्न । संविधानसभाको अन्तिम चरणमा बहिष्कार गरेर आन्दोलनमा जानुभएको मधेसवादी दलका साथीहरू निर्वाचनमा भाग लिनु भनेको नयाँ संविधान स्विकारेको सन्देश हो । यो सकारात्मक छ । संविधानभित्र रहेका कतिपय व्यवस्था मलाई पनि चित्त बुझेको छैन । चित्त नबुझेका विषयमा भोलि संसद्को वैधानिक प्रक्रियामार्फत् समाधान हुँदै जान्छ । मधेसी दलहरूले मतदानमा भाग लिनेदेखि मन्त्रिपरिषद् बनाउने काममा सहभागी हुनुभएकोमा धन्यवाद दिनुपर्छ । अझ विजय गच्छदारजी त सरकारमै सहभागी हुनुभएको छ । उहाँलाई विशेष धन्यवाद छ ।

कांग्रेसको अबको भूमिका कस्तो रहन्छ ?
 हामी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौं । संविधान कार्यान्वयन र संघीय संरचना खडा गर्ने सवालमा हामी सहयोग गर्छौं । संविधान कार्यान्वयनमा हामी अप्ठ्यारो पार्दैनौं । संघीयता नेपालको नयाँ प्रबन्ध हो । धेरै कानुनहरू बनाउनुपर्छ । प्रहरी, प्रशासनका संरचना निर्माण गर्नु छ । संघीय आयोग बनाउनुपर्ने छ । आयोगले संसद्लाई सुझाव दिनुपर्छ । सुझावका आधारमा परिमार्जन गर्ने विषय संसद्को दुई तिहाई मतले पारित गर्नुपर्छ । यी सबै विषय सहज रूपमा अघि बढाउन हाम्रो भूमिकाबेगर सरकार एक्लै अघि बढ्न सक्दैन । विगतमा भएको सहमति कार्यान्वयन गर्न नसके पनि कांग्रेस राष्ट्रको स्वार्थमा एकताबद्ध भएर अघि बढ्छ ।

स्थानीय निकायको निर्वाचन, प्रदेशको निर्वाचन, संघीय संसद्, राष्ट्रियसभाको निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनु नयाँ संविधानको पहिलो चरणको कार्यान्वयन हो । पहिलो चरणको काम नहुँदासम्म सरकार जसको नेतृत्वमा बने पनि प्रतिपक्षले रचनात्मक सहयोग गर्नैपर्ने हुन्छ । हामी त्यही भूमिकामा रहन्छौं ।

यो सरकारलाई संविधान कार्यान्वयनको चरणमा काम गर्न अप्ठ्यारो छ भन्नुभएको हो ?
अप्ठ्यारो पर्छ । हामीले सहयोग गरेनौं भने त सरकार अघि बढ्न सक्दैन । संसद्मा एक तिहाईभन्दा बढी मत कांग्रेसको छ । दुई तिहाई नपुगी संविधनका वाक्य, अंश केही पनि परिवर्तन हुन सक्दैन । एमाले नेतृत्वलाई यो प्रस्ट जानकारी छ । कांग्रेसले पनि हामीसँग एक तिहाई छ भनी बाधा खडा गर्नु हुन्न । हामीले संविधान संशोधन र कार्यान्वयनका विषयमा एक भएर अघि जाने पद्धति निर्माण गर्न सक्नुपर्छ । अन्यथा राज्य कमजोर हुन्छ । दिगो शान्ति, सुशासन र विकास निर्माण अघि बढ्न सक्दैन । बलियो नेपाल निर्माण हुन सक्दैन । सजगकतासाथ कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्छ । सरकारका खराब कामको त विरोध हुन्छ नै ।

अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनमा कांग्रेसको कस्तो भूमिका रहन्छ ?
प्रधानमन्त्रीको निर्वाचनमा त्रय नेताले गल्ती गर्नुभएको छ । त्यसपछि उहाँहरूसँग बसेर यस विषयमा छलफल भएको छैन । अब हामी यस्तो गल्ती गर्दैनौं । नेतृत्व तहले पनि गल्ती महसुस गरिसकेको हुनुपर्छ । पहिला हामी पार्टीकै नेतृत्वसँगै सल्लाह र समझदारी गर्दै अन्य दलसँग छलफल गर्छौं ।

कांग्रेसले राष्ट्रपति या सभामुखको दाबी लिने र त्यसका लागि समर्थन खोज्ने प्रयास पनि गर्छ कि ?
कांग्रेस संसद्मा ठूलो राजनीतिक दल हो । राष्ट्रका सामु देखिएका समस्या समाधान गर्न सहमतिसाथ अघि बढ्नुपर्छ । नयाँ निर्वाचन प्रणालीले भोलि आउने संसद् पनि त्रिशंकु नै हुन्छ । ओलीजीको नेतृत्वमा सरकार बने पनि संविधान कार्यान्वयन गर्ने कामको अग्रसरता लिने संविधान निर्माणको अगुवाइ गरेको कांग्रेसले लिनुपर्छ ।

यसको अर्थ राष्ट्रपति कांग्रेसले पाउनुपर्छ भन्ने हो ?
कांग्रेसले औपचारिक निर्णय गरेको छैन । तर मेरो मान्यता सहमतिबाटै अघि बढ्नुपर्छ । राष्ट्रपतिको उम्मेदवार दिने, नदिने विषय अहिल्यै पार्टीमा छलफल भएको छैन । एक, दुई दिनमा एउटा निष्कर्षमा पार्टी पुग्ला ।

एमाले र एमाओवादीबीच राज्यका सबै पदको भागबन्डा भइसकेको भन्ने छ नि त ?
प्रधानमन्त्री ओलीले के गर्दा ठीक हुन्छ भन्ने विश्लेषण गरेर नै अग्रसरता लिनुहोला । लिनु पनि पर्छ । शान्ति प्रक्रिया र सरकार निर्माणका महत्त्वपूर्ण पक्षको हैसियतले एमाओवादीको पनि यसमा ठूलो जिम्मेवारी छ । पद भागबन्डा गरिसकेको विषय हामीलाई थाहा छैन । हामीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चाहिन्छ भनी पदीय आशक्ति राख्दैनौं । तर, ठूला तीन राजनीतिक दलहरू संक्रमणकालीन अवस्थामा एकसाथ भएर अघि बढ्न सकेन भने राष्ट्रले कष्ट बेहोर्नुपर्छ । जनताले कष्ट बेहोर्ने थाहा पाउँदापाउँदै सरकारमा रहेका दलहरू एक्लै अघि बढ्छन् भन्ने लाग्दैन । हामी पनि प्रतिपक्षमा बस्ने भएकाले निराश हुनुपर्ने कुनै अवस्था छैन ।

कांग्रेसलाई एक्ल्याएर गयो भने सरकार अप्ठ्यारामा पर्छ भन्ने तपाईंको धारणा हो ?
स्वाभाविक हो । त्यस्तो अवस्थामा सरकारले केही गर्न सक्दैन । यो सरकारले नेपाली कांग्रेसलाई साथमा लिएर हिंड्न सकेन भने कुनै पनि समस्याको समाधान गर्न सक्दैन । त्यसैले सरकारलाई अहिल्यैदेखि सजग हुन पनि म आग्रह गर्छु । सत्ता र सरकार केही समय चलाउनु कुनै ठूलो कुरा होइन । प्रधानमन्त्रीको कुर्सीमा बस्नु पनि ठूलो होइन । बरु थोरै समय बसेर पनि राष्ट्रिय समस्या हल गर्न ओलीजीले सक्नुभयो भने त्यसले उहाँको उचाइ बढाउँछ ।

ऐतिहासिक सफलता लिन ओलीजीले कांग्रेससँग निरन्तर संवाद, छलफल र समझदारी कायम गरेर अघि बढ्न सक्नुपर्छ । सक्नुभएन भने उहाँ आफैं असफलताको बाटोमा धकेलिनुहुन्छ । पहिलोपटक प्रधानमन्त्री बन्दा हरेक शासकलाई राष्ट्र आफ्नै मुठ्ठीमा भएजस्तो भान हुँदोरहेछ । त्यो गल्ती ओलीजीमा नहोस् । जति नम्र भएर अघि बढ्यो त्यति मुलुकले निकास पाउँछ ।

यो चुनावको प्रभाव पार्टीको आसन्न महाधिवेशनमा कतिको पर्ने देख्नुहुन्छ ?
यसको असर पर्छ । यसको मूल्यांकन साथीहरूले गर्नुहुन्छ । देशभरका साथीहरूमा यो चुनावले गर्दा मनोबल घटेको पाएको छु । मनोबल घट्नुको मूल कारण कांग्रेसको हातबाट सत्ता गुम्यो भनेर होइन । कांग्रेसले जुन निर्णय लिनुपथ्र्याे, त्यो गर्न सकेन र संविधानको कार्यान्वयन सहज ढंगले हुँदैन कि भनेर चिन्ता भएको हो । कांग्रेस सत्ताका लागि आसक्त पार्टी होइन । तल्लो तहका कार्यकर्ताले कांग्रेसले केही गरोस् भन्ने थियो । तर, अप्रत्याशित रूपमा सुशील कोइराला उठाउने जुन निर्णय भयो त्यसबाट साथीहरू आश्चर्यचकित भएका छन् ।

कार्यकर्ताहरूको मनोबल बढाउन तपार्इंहरू के गर्दै हुनुहुन्छ ?
ओलीजी प्रधानमन्त्री भएपछि यो सरकार निरन्तर रहन्छ । जेजे गरे पनि छुट हुन्छ भन्ने कांग्रेसका आम मानिसमा भ्रम छ । त्यस्तो होइन । ओलीजीले सबैलाई साथमा लिएर जान सक्नुभएन भने अहिलेको सरकार कुनै पनि बेला गिर्न सक्छ । नेपाली कांग्रेसको साथ विपरीत यो सरकार अघि बढ्नै सक्दैन । राम्रा काम गरुन्जेल साथ दिन्छ । नराम्रा काम गर्नलाई साथ दिंदैन । जुन दिन यो सरकारले गलत काम गर्छ, त्यसै दिन यो सरकार गिर्छ । नयाँ संविधानको संक्रमणकालीन व्यवस्थाअन्तर्गत प्रधानमन्त्रीले गल्ती गरेमा या बुहमत गुमाएको खण्डमा जुनसुकै बेला पनि अविश्वासको प्रस्ताव ल्याउन सकिने व्यवस्था छ ।

खालि एउटै अधिवेशनमा दुईपटक अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था हो । कतिपयलाई दुई वर्षसम्म अविश्वास राख्न पाइँदैन भन्ने भ्रम छ । त्यो होइन । आम निर्वाचनपछि बनेको संसद्बाट निर्वाचित प्रधानमन्त्रीलाई मात्रै दुई वर्षपछि  अविश्वासको प्रस्ताव ल्याउने व्यवस्था हो । त्यसमा पनि प्रधानमन्त्री निर्वाचित भएको दल फुटेमा या गठबन्धन दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत प्रधानमन्त्रीले अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था छ । विश्वासको मत प्राप्त भएन भने प्रधानमन्त्री पद मुक्त हुन्छ ।

देशभरका कांग्रेसका कार्यकर्ता र शुभेच्छुकले मनोबल गिराउनुपर्ने कुनै कारण छैन । सभापति उठ्ने विषयमा हतारिएर बोल्नु हुन्न । यतिबेला मेरो मूल दायित्व महाधिवेशनको वातावरण बनाउनु हो । antipur.ekantipur.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses