ओली सरकारलाई पहिलो गाँस मै ढुंगा
केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ ग्रहण गरेको दिन देखि नै नयाँ मन्त्रिमण्डल गठनमा विवाद र तानातान देखिएकोले ओलीलाई पहिलो गाँस मै ढुंगा लाग्न थालेको छ ।
एकातिर नयाँ गठबन्धनमा रहेका दलहरु एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक र अन्य साना दलहरुबीच मन्त्री मण्डलका पदहरु बाँडफाँड नमिल्नु र समझदारी भएका पदीय बाँडफाँडमा समेत पनि सम्वन्धित दल भित्र तीब्र विवाद र तानातानको स्थिति पैदा भएको कारणले गर्दा अर्थ र गृह जस्ता अति महत्वपूर्ण पदमा समेत पनि मन्त्री नियुक्त हुन नसक्नुले ओली सरकारको भावी दिनहरु कठिन हुने आँकलन गर्न थालिएको छ ।
अर्थ मन्त्रालय एमालेको भागमा पर्ने समझदारी गठबन्धनका दलहरुबीच भएतापनि एमाले भित्रै उत्पन्न विवादले गर्दा अर्थमन्त्रीका रुपमा टुंगो लागिसकेको भनिएका विष्णु पौडेलको पनि सपथ भएन । संचारमाध्यममा उनको नाम व्यापक प्रचारमा आएतापनि अर्थमन्त्री पद खाली नै रहन गयो ।
एमालेमा अरु मन्त्रीहरुबारे पनि विवाद चर्कन थालेको समाचार श्रोतहरु वताउँछन् । त्यसैले सपथ नलिएसम्म कुनै पनि व्यक्ति मन्त्री वनिहाल्छ भन्ने पक्का नहुने भन्ने तथ्य यसपटकको मन्त्रिमण्डल गठनले पुनः प्रष्ट पारेको देखिन्छ ।
त्यसैगरी एमाओवादीको भागमा परेको गृह मन्त्रीको पदमा पनि पार्टी भित्रै विवाद उत्पन्न भएकोले गृहमन्त्रीमा कसैलाई तत्काल नपठाइएको वताइन्छ । कृष्णबहादुर महरा सभामुख हुने भएमा टोपवहादुर रायमाझी आफूले उपप्रधानमन्त्री र गृहमन्त्री पाउनु पर्ने दावी गरेको वताइन्छ । तर उनी विगतमा बाबुराम पक्षधर भएकोले उपप्रधानमन्त्री दिएपनि गृहमन्त्रीमा शक्ति बस्नेतलाई प्रचण्डले पठाउन सक्ने सम्भावना पनि कायम रहेको समाचार श्रोतहरुको भनाइ छ ।
मुख्य कुरा नमिलेको राष्ट्रपति पनि हो भन्ने एकथरी समाचार पनि आइरहेको छ । प्रचण्ड नै राष्ट्रपतिमा जाने वा नजाने भन्ने अन्तिम टुंगो नलागेसम्म अरु पदहरुको गठबन्धनमा बाँडफाँड नमिल्ने बताइन्छ । राष्ट्रपतिमा प्रचण्ड जाने भएमा एमालेले सभामुख लिने हुन्छ । यदि प्रचण्ड राष्ट्रपतिमा नजाने अन्तिम टुंगो दिएमा सभामुख एमाओवादीले लिएर राष्ट्रपतिमा एमालेले सुवास नेम्वाङ, विद्या भण्डारी वा झलनाथ खनाल मध्ये एक जनालाई पठाउन सक्ने बताइन्छ ।
जे भएतापनि ओली सरकारको पहिलो दिनबाट नै पार्टीहरुबीच तथा पार्टीहरु भित्रै पनि कुर्सीमा जानको लागि विवाद जसरी सुरु भएको छ । यसले आगामी दिनहरु राम्रो नहुने संकेत गरेको राजनैतिक विश्लेषकहरु बताउँछन् । आगामी दिनमा दलहरुबीच तथा दलहरु भित्र यसैको बहानामा समेत पनि टुटफुट आउन सक्ने, भारत र कांग्रेशले गठवन्धन फुटाउन तथा दलहरु फुटाउन गर्ने प्रयासको शिकार हुन सक्ने र आकस्मिक रुपमा सरकार अल्पायु मै ढल्न सक्ने सम्भावना बढ्ने पनि आँकलन हुन थालिसकेका छन् ।
www.nepalsandesh.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses