नाकाबन्दीको सामना गरेर नेपालीले खुसी साथ दसैँ मनाउन सक्छन् : कांग्रेस
काठमाडौं, ५ कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बिजया दशमीले सबै नेपालीलाई साँस्कृतिक एकताको सूत्रमा आबद्ध गरेर नेपालको राष्ट्रियतालाई झन सबल बनाउन सघाउँदै आएको जनाएको छ ।कांग्रेस सभापति सुशील कोइरालाले बडादसैँका अबसरमा आज शुभकामना सन्देश दिँदै हाम्रा साँस्कृतिक चाड पर्वहरूले कायम गरेको राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सबै नेपालीले बुद्धिमता र विवेकपूर्ण ढंगले काम गर्न जरुरी रहेको बताउनुभएको छ ।
‘अहिले हामी एक ऐतिहासिक मोडमा उभिएका छौं’, सन्देशमा कोइरालाले भन्नुभएको छ, ‘प्रजातन्त्रको स्थापना, पुनःस्थापना र संस्थागत विकासकालागि नेपाली जनताले झण्डै एक शताब्दी अगाडिदेखि गरेको आन्दोलन र संघर्षका उपलब्धिहरूलाई संस्थागत गरी नेपाल र नेपालीको भविष्य सुरक्षित गर्ने संविधान जारी गर्ने ऐतिहासिक जिम्मेवारी समस्त नेपालीको साथ र सहयोगमा सम्पन्न भएको छ ।’
कांग्रेसले राष्ट्रिय चाड पर्वमा पनि नेपालको तराई मधेसमा चलेको आन्दोलन र त्यसका कारण छिमेकी मित्र राष्ट्र भारतसँग जोडिएका नाकामा सिर्जना भएको अवरोधले मुुलुकको आपूर्ति व्यवस्थामा आएको असहज परिस्थितिले नेपालीहरूको दैनिक जीवनलाई प्रभावित गरेको उल्लेख गरेको छ ।
‘संविधानका केही विषयमा असहमति देखाउदै आन्दोलनमा रहनु भएका राजनीतिक दलहरूलाई शान्तिपूर्ण वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न मेरो नेतृत्वमा रहेको पूर्ववर्ती सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गर्नुको साथै आन्दोलनरत दलहरूलाई वार्तामा ल्याउन गरिएको प्रयासलाई सार्थक बनाउनु परेको छ’, कोइरालाले भन्नुभएको छ ।
वर्तमान सरकारले त्यसलाई परिणाममा पुराउने आफूले विश्वास लिएको कोइरालाले बताउनुभएको छ ।
‘नागरिकलाई सर्वाधिकार सम्पन्न बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको अभ्यास र विकासमा पनि राजनीतिक दलहरुको बीचमा आपसी सहमति, सहकार्य, एकता र मेलमिलाप कायम राख्न सम्बद्ध सबै पक्ष उत्तिकै जिम्मेवार बनेर नेपाललाई सबल राष्ट्र्रमा रुपान्तरण गर्न मन बचन र कर्मले समर्पित बन्न भवानी दुर्गाले सबैलाई आर्शीवाद प्रदान गरुन्’, शुभकामना सन्देशमा कोइरालाले भन्नुभएको छ ।
dainiknepal.com


0 comments
Write Down Your Responses