सरकार र मोर्चाबीच कुरा अझै मिल्ने संकेत देखिएन, सीमांकन मिलाउन मधेसी मोर्चाको जोड -
काठमाडौं, ४ कात्तिक । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको वार्ता लचकतासका साथ अगाडि बढेको नेताहरूले बताएका छन् । तर वार्ता तत्काल सहमतिमा पुग्ने कुनै संकेत देखिएको छैन ।
नयाँ सरकार आएपछि बनेको सरकारी वार्ता टोली र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज (बुधबार) काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा भएको वार्ता सकारात्मकतर्फ उन्मुख भएको दाबी गरिएको छ ।
बैठकपछि जानकारी दिँदै तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले मधेसी मोर्चाले राख्दै आएका विषयहरू आज पनि सरकारी वार्ता टोली समक्ष राखिएको बताउनुभयो । उहाँले अन्य दिनको तुलनामा दुबै पक्ष केही लचक देखिएको अनुभूति आफूले पाएको बताउनुभयो ।
‘हामी लामो सयदेखि आन्दोलनमा छौँ’, उहाँले भन्नुभयो, ‘सबैभन्दा ठूलो समस्या सिमाङ्कनमा देखिएको छ । यदि यस विषयमा सरकारी प्रतिवद्धता आयो भने कुरा मिल्न सक्छ ।’
वार्तामा सरकारी पक्षले नेपालीहरूको ठूलो पर्व दसैँका बेला पनि नाकाबन्दी गरेर आन्दोलन गरेको भन्दै मधेसी मोर्चालाई आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गरेको थियो । तर मोर्चाले आन्दोलनप्रति जनसमर्थन बढेको भन्दै यथाअवस्थामा आन्दोलनको स्वरुप परिवर्तन गर्न नसकिने जनाएको थियो ।
वार्तामा मधेसी मोर्चाले प्रदेश सीमाङ्कनबारे स्पष्ट र ठोस दृष्टीकोणसहित आउन सरकारी वार्ता टोलीलाई आग्रह गरेको छ । यस विषयमा अन्य दलसँग छलफल गरी धारणा सार्वजनिक गर्ने जवाफ सरकारी वार्ता टोलीले दिएको महामन्त्री शुक्लाले बताउनुभयो ।
सरकारी वार्ता टोलीका संयोजक एवं उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले वार्ता सकारात्मक भएको भन्दै मधेसी मोर्चालाई लचकता अपनाउन आग्रह गरेको जानकारी दिनुभयो ।
उहाँले सहमतिका लागि दुबै पक्षबीच लचकता आवश्यक रहेको र विगतको सरकारले मोर्चासँग गरेका सहमतिअनुसार अघि बढ्ने बताउनुभयो ।
वार्तामा सरकारका तर्फबाट संयोजक थापाका साथै सामान्य प्रशासनमन्त्री रेखा शर्मा, विना विभागीय मन्त्री रामजनम चौधरी तथा मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ललगायतको सहभागी थिए । अर्को वार्ता आइतबार दिउँसो एक बजे परराष्ट्र मन्त्रालयमा हुनेछ ।
 http://dainiknepal.
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses