प्रधानमन्त्री ओलीको झापामा बृहद अभिनन्दन
विर्तामोडः प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृह जिल्ला झापामा बृहद अभिनन्दन गरिएको छ । बुधबार विर्तामोडमा आयोजित भब्य कार्यक्रमका बीच प्रधानमन्त्री ओलीलाई अभिनन्दन गरिएको हो ।

नेकपा एमाले जिल्ला कमिटि झापाले आयोजना गरेको अभिनन्दन समारोहमा दुई दर्जन भन्दा बढी संघ संस्थाहरुले प्रधानमन्त्री ओलीलाई अभिनन्दन पत्रले अभिनन्दित गरेका थिए ।

अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल भारत सीमामा भइरहेको अवरोध केही दिनमा हल हुने बताए । प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पल्ट गृह जिल्ला झापा आइपुगेका ओलीले केही समय दुःख भोग्नुपरे पनि चाँडै उक्त समस्या समाधान हुने बताए ।

प्रधानमन्त्री ओलीले स्वाभिमान नगुमाइ अहिले सीमा नाकामा भइरहेको अवरोधको समाधान गरिने बताए । गृह जिल्ला झापा आएका प्रधानमन्त्री ओलीले केही दिनमै उक्त समस्या समाधान हुने विश्वास दिलाए ।

उनले भने, 'हामी समस्याहरुको समाधान गर्दै जान्छौं । केही समय दुःख परेको छ । ति समस्याहरुको समाधान केही दिनमै हुन्छ । म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु ।' तर उनले समस्या समाधानको समय सीमा भने तोकेनन् । प्रधानमन्त्री ओलीले अहिलेको सरकारमा सबै किसिमका दलहरुको प्रतिनिधित्व रहेकाले नेपाली कांग्रेसलाई समेत सरकारमा ल्याउने बताए ।

ओलीले भने, 'यो सरकार अहिलेसम्म नबनेको संरचनामा बनेको छ । सबैखाले दल सरकारमा छन् । कांग्रेसले समेत निहुँ खोजे तुरुन्त सरकारमा सामेल गराउँछौं ।'

सरकारमा पुगेपछि केही नेताहरु भ्रस्टाचारमा मुछिने गरेको प्रसंग कोट्याउँदै प्रधानमन्त्री ओलीले आफ्नो पुरानै ठट्यौली पारामा भने, 'तपाईंहरुले मलाई प्रधानमन्त्री बनाइदिनुभएको छ । भगवानका कृपाले मेरा छोरा छोरी छैनन् । मैले कसका लागि कमाउनु छ र । मैले कमाएर अरुले रजाईं गर्ने काम म बाट हुँदैन ।'

उनले एक बर्षभित्रमा लोडसेडिङ अन्त्य गर्ने, दुई बर्ष भित्रमा शतप्रतिशत जनतालाई शिक्षा दिलाउने, दुई बर्षभित्र सबैलाई बस्ने घरको व्यवस्था गरिदिने लगायतका सरकारका महत्वाकंक्षी योजना सुनाएका थिए । उनले देश विकासका लागि आफ्नो काममा साथ दिन सरकार बाहिर रहेका राजनीतिक दलहरुलाई आग्रह समेत गरेका थिए । annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses