बाबुरामको नयाँ शक्ति, भ्रमभित्रको अर्को भ्रम
बिहीबार, २४ मंसिर
डा.बाबुराम भट्टराई एक पिएचडी होल्डर बौद्धिक व्यक्तित्व हो भन्ने कुरामा सायद सहमत नहुने कोही छैन होला । नेपाली राजनीतिका एक चर्चित पात्र भट्टरार्ई देशको प्रधानमन्त्री बनिसकेका छन् । राजनीतिमा लागेर उनी आवद्ध पार्टी एमाओवादीको अध्यक्ष बाहेक सबै प्राप्त गरिसकेका भट्टरार्ई यतिबेला नयाँ शक्ति निर्माणको अभियानमा रहेका छन् ।
नयाँ शक्ति निर्माणका लागि उनले प्रस्तुत गरेको कार्यपत्रमा केही कुरा नयाँ उल्लेख गरेपनि ति कुराहरु व्यवहारमा लागु हुनेमा रत्तिभर विश्वास गर्न सकिने आधार कतै देखिदैन । उनले नयाँ शक्ति निर्माण गर्ने भनेपनि किन नयाँ शक्ति ? कसका लागि नयाँ शक्ति ? कस्तो नयाँ शक्ति स्पष्ट पारेका भने छैनन् ।
भट्टरार्ईले नयाँ शक्ति निर्माण गर्ने भन्दै जम्मा गरेका मानिसहरुका अनुहार हर्ने हो भने नयाँ शक्ति होइन पुरानाहरुको अर्को एक गुट वा मोर्चा बन्ने भएको छ । किनभने बाबुरामले नयाँ माओवादी पार्टी नबन्ने बताइ सकेका छन् । उनको नयाँ शक्तिमा लाग्ने भनेका मानिसहरु कोही पनि नयाँ हालसम्म देखा परेका छैनन् ।
उनको समर्थनमा रहदै साथ समेत दिदै आएका एमाओवादीका नेता कार्यकर्ता नयाँ हुने कुरै भएन । उनीहरु सबै पुरानै हुन । उसो त भट्टराई पनि पुरानै हुन । उनले जनयुद्धकालमा नयाँ काम गरेपनि, नयाँ विचार अनुरुप आफूलाई व्यवहारमा उतारे पनि खुला राजनीतिमा आएपछि अन्य राजनीतिक दल र तीनका नेताभन्दा फरक बन्न सकेनन् ।
हिजो काँग्रेसले कोशी, गण्डक र टनकपुर बेच्दै संझौताको नाटक गरेर आफूलाई भारतीय शासकको असल आज्ञाकारी बनाए झै एमालेले महाकाली बेचेर भारतीय शासकको दुनो सोझ्याए जस्तै गरी डा.बाबुराम भट्टरार्ईले पनि बिप्पा संझौता गरेर माओवादी पार्टीलाई राष्ट्रघातीको ट्याग लगाउने काम गरेका थिए ।
साथै उनले आफुलाई भारतीय शासकको स्वार्थ र इसारामा चल्ने असली पात्रको रुपमा दर्ज गरेका थिए । त्यसो भए के यस प्रकारका राष्ट्रघाती काम गर्नेहरुलाई नयाँ शक्ति भन्न मिल्छ ? पक्कै पनि मिल्दैन । बरु उनले सत्ताको बागडोर सम्हाल्दै कतिपय जनमुखी काम गरेका थिए । गरिब जनताको घरमा एक रात बसेर नयाँपन ल्याएका थिए ।
काठमाडौंको सडक चौडा बनाउन जोखिम मोलेका थिए । यस मानेमा उनलाई धन्यवाद दिनै पर्दछ ।
तर, नेपालको राजनीतिका प्रमुख खेलाडी मध्यका एक बाबुराम जो देशको प्रधानमन्त्री समेत बनेका व्यक्तिले देश संकटको घडीमा रहेको बेला, सिङगो माओवादी आन्दोलन र समग्र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यमाथि प्रश्न चिन्ह उठिरहेको बेला नयाँ शक्ति बनाउने भन्दै एमाओवादी र संसद पद छोड्ने कुराले उनको बौद्धिकता माथि त प्रश्नचिन्ह उठेको छ नै स्वयंम बाबुरामको राजनीतिक भविष्यसमेत    अन्यौल र अनिश्चित बन्न पुगेको छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा माओवादी जनयुद्धको ‘थिङट्यांक’ भनेर फैलाइएको भ्रमको निवारण नहुदै भट्टरार्र्ईले नयाँ शक्ति निर्माणको अभियान थालेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा परिचर्चा, छलफल र टिका टिप्पणी हुने नै भयो । यतिबेला नेपालमा नयाँ शक्ति निर्माण गर्ने बिषय बजारमा बहसको रुपमा रहेपनि देशमा उत्पन्न नाकाबन्दीको संकटले मानिसहरुको ध्यान त्यति केन्द्रित भएको पाइदैन ।
कतिपयले त्यस बिषयलाई मजाकका रुपमा लिएको समेत पाइन्छ । सुरुमा सहरिया सुकिला–मुकिललाले नयाँ शक्तिबाट के के नै पाइन्छ भन्ठाने पनि उनीहरुसमेत बिस्तारै टाढिदै गएको घटनाक्रममले देखाउदै गइरहेको छ ।
केही समय बाबुरामले मौसमी रुपी स्वघोषित नागरिक समाजका अगुवाहरु भनिएकालाई बिभिन्न होटल र रेष्टुरेष्टमा बोलाएर छलफल गरेका पनि थिए । त्यहा उपस्थित धेरैजसोले भट्टरार्ईलाई हौस्याएका थिए । तर, उनीहरुबाट नयाँ शक्ति बन्दैन भन्ने कुरा बाबुरामले किन ख्याल गरेनन भन्ने कुरा बुझि नसक्नु छ ।
नयाँ शक्ति नयाँ व्यक्ति र विचारबाट बन्ने हो भन्ने कुरा बाबुरामलाई थाहा नहुने नै भएन । उनलाई थाहा हुदा पनि उनले यसो किन गरिरहेका छन भन्ने कुराको वास्तविकता बिस्तारै बाहिर आउने नै छ । उनका पछिल्ला गतिबिधिले पछि कुनै दिन काँग्रेस सभापति शुसील कोइरालाले ‘‘..कसैले प्रधानमन्त्री उठ भन्यो म उठिदिए भने झै बाबुरामले पनि …ले भन्यो मैले पनि नयाँ शक्ति बनाउने भन्दै एमाओवादी छोडिदिए’’ नभन्लान भन्न सकिन्न ।
आशा गरौं बाबुराम जस्तो व्यक्तिले सुशील कोइरालको जस्तो पारा देखाउने छैनन् । डा. भट्टरार्ई माथि भारत  परस्त भएको आरोप लाग्दै आएको छ । नेपालमा जारी भएको संविधान भारतले नमान्ने मात्र होइन त्यसैको निहुमा नाकाबन्दी गर्नु, त्यही बेला भारतलाई सहयोग पुग्ने गरी बाबुरामले एमाओवादी र संसदसमेत छोड्नु संयोग मात्र भन्न मिल्दैन । यसमा पक्कै पनि ठूलै रहस्य लुकेको छ ।
जुनकुरा बाबुरामलाई थाहा हुने नै भयो, उनलाई साथ दिने अरु कतिपयलाई पनि पक्कै पनि थाहा होला । यदि भारतकै डिजाइनमा बाबुरामले नयाँ शक्तिको कुरा अगाडि सारेका हुन भने  बाबुरामको राजनीतिक भविष्य त सकिने त छ नै कतिपयले उनीमाथि गरेको आशाको त्यान्द्रो समेत सदाको निम्ति चुडिएर जानेछ ।
जुनकुरा बाबुरामले बुझ्न समय अझैपनि छ । बाबुरामले नयाँ शक्ति बनाउनु भन्दा पहिला नेपाली समाजलाई बुझ्न र जान्न जरुरी छ । हिजो जनयुद्धकालमा समेत नबुझेको नेपाली समाज आज उनले बुझेर वा जानेर नयाँ शक्तिको कुरा ल्याएको जस्तो कहिकतै पाइदैन । उनले प्रस्तुत गरेका डकुमेन्टमा उल्लेख भएको पाइदैन ।
खाली आर्थिक सम्बृद्धि, विकास र आर्थिक क्रान्तिका साथै पूँजिवादी समाजको कुरा गरेर मात्र नयाँ बन्दैन । त्यसले न त नयाँ नेपाल नै बन्दछ । त्यसका लागि त पहिला नेपाली समाजको सोच, चिन्त, प्रवृति र अगाल्दै आएका रितिरिवाज, चालचलनलाई गहिरो रुपमा अध्ययन गर्न जरुरी छ ।
अझ त्यो भन्दा महत्वपूर्ण पक्ष भनेको नेपाली समाज त्यो समाजमा बस्ने हरेक नागरिकको जीवन र जगतलाई हेर्ने विश्व दृष्टिकोण के हो भन्ने कुरा जान्न आवश्यक छ । यो डा. बाबुरामको हकमा मात्र नभएर सारा नेपालका राजनीतिक दल, तीनका नेता, कार्यकर्ता र समाजका सचेत भनिएका बौद्धिक व्यक्तिहरुको हकमा पनि लागु हुन्छ ।
अव व्यवहारले मात्र नयाँपनको अनुभूति देशमा  गराउन सकिन्छ । कागजरुपी घोडा दौडाएर जनताले अब पत्याउने छैनन् र पत्याउनु पनि हुदैन ।
यतिबेला बाबुरामले कसैले केहि नयाँ चिज नल्याएको अबसर छोपेर ‘भोकाएको कुकुरलाई ढुङगा फाले झै’ नयाँ शक्तिको कार्ड फालेर नेपाली समाजमा अर्को भ्रम फैलाइरहेका छन । यसको भविष्य धेरै छैन भन्दा विवेक पुर्याएर नै भनेको ठानिने छ । २०६४ सालको माओवादी शक्ति २०७० सालको मध्यतिर आउदा कस्तो भयो भन्ने दृष्टिान्त हाम्रो सामु ताजा नै छ ।
छिमेकी मुलुक भारतको ‘मोदी लहर’ कति दिन टिक्यो र विहारमा आएर कसरी धुलो चाट्न पुग्यो भन्ने कुराको हेक्का बाबुरामले पक्कैपनि राखेकै होलान् । विगतमा काँग्रेस–एमालेहरुको हालत मात्र होइन हरिबिजोग भएको कुरा पनि बाबुरामले जानेको छैन भन्न मिल्दैन ।
त्यसैले डा. बाबुराम सबैभन्दा पहिला आफै नयाँ बन्न सक्नुपर्दछ । अनिमात्र नयाँ शक्तिको कुरा गर्दा सान्दर्भिक होला ।
नेपालको राजनीति र तिनका नेता कार्यकर्ता भ्रम फैलाउने र भ्रममै रमाउने भएकै कारण आज नेपालको भविष्य चौपट भएको कुरा घाम जस्तै छलङ्ग छ । किनभने नेपालको राजनीति विगतदेखि अहिलेसम्म भाग्यवादी विश्व दृष्टिकोणबाट माथि उठ्न सकेको छैन ।
नेपालमा चल्तिमा रहेका ‘भाग्यमानीको भूतै कमारो, भाग्यमा लेखिएको छ भने ढोकोमा पनि दूध अडिन्छ’ जस्ता उखान अहिले पनि चरितार्थ हुदै आएको छ । त्यसैले पनि गणतन्त्रमा समेत यहाँका राजनीतिक दल र तीनका नेता कार्यकर्ताका साथै आम जनता पनि गणतन्त्र अनुरुप आफूलाई बदल्न सकेका छैनन् ।
बाबुरामले पनि आफूलाई कुनै प्रकारले बदल्न नसकेका कारण उनको नेतृत्वमा नयाँ शक्तिको कल्पना गर्नु कुनै प्रकारले मेल खादैन । अर्को कुरा बाबुरामले कागजमा नयाँ रचना गर्न सक्लान तर, त्यसलाई लागु गरेर नेतृत्व प्रदान गर्ने काम बाबुरामबाट हुन सक्दैन भन्ने कुरा उनी प्रधानमन्त्री बनेको बेला गठन भएको मन्त्रीमण्डल र उनको जन्तीरुपी सचिवालयबाट स्पष्ट हुन्छ ।
अहिले बाबुराम एकातिर फुटबल खेल खेल्नका लागि नयाँ टिम बनाउने भनिरहेका पनि छन् । अर्कोतिर मैदानमा रहेका खेलाडीहरुलाई यसो गर उसो गर भनेर दर्शक दिर्घाबाट अर्थाइरहेका पनि छन् । आफै सहभागि भएर खेलिने खेलको मैदान छोडेर बाहिर आएका बाबुरामले दर्शक बन्दै जसरी बाहिरबाट यसो हुनुपर्यो, उसो हुनुपर्यो भनिरहेका छन् उनले भनेअनुसार खेलाडीहरु चल्नेकुरा त्यति संभव देखिदैन ।
हुन त उनले प्रधानमन्त्री देखि एमाओवादी अध्यक्षसम्मलाई भेटेर वर्तमान संकटमोचन सम्बन्धी सुझाएका छन, त्यसलाई सकारात्मक रुपमै लिनु पर्दछ । रातो स्टिकर टाँसेको घरको मुख्य मानिसलाई भेटेर आफूलाई सुधार्ने कामको सुरुवातको रुपमा पनि यसलाई लिन सकिन्छ ।
जे भएपनि बाबुराम भट्टरार्र्ई बाबुराम बन्न उनको आफ्नो अर्थक प्रयास, परिश्रम, सघर्ष, इतिहास र बौद्धिकता होला तर, अझ त्यो भन्दा बढी नेपाली जनताको साथ, सहयोग, माया, सद्भाव, उनीमाथि गरिएको विश्वास महत्वपूर्ण रहेको कुरा उनले कहिल्यै पनि भूल्नु हुदैन ।
उनी जस्तै नामको अगाडि डा. लेख्नेहरु यो दशमा हजारौंको संख्यामा रहेका छन् । कति नक्कली कति सक्कली त्यो अर्को पाटो भयो । तर, बाबुरामलाई यो उचाइमा पुर्याउन कसले कति बलिदान गरे, कसको कति योगदान छ भन्ने कुरा पनि उनले बिर्सनु हुदैन ।
कुनै एकजना व्यक्तिले खुर्सानीमा पिएचडी गरेका कारण ‘खुर्सानी पिरो भएको होइन’, चिनीमा पिएचडी गरेका कारण ‘चिनी गुलियो भएको होइन’ भने झै डा. बाबुरामले पिएचडी गरेकै कारण उनी यो उचाइमा पुगेको भन्ने कुरा यदि उनको मनमा छ भने त्यो भ्रमबाट उनी मुक्त हुन जरुरी छ ।
निश्चय पनि नेपालमा नयाँ शक्ति होइन, नयाँ राजनीतिक शक्ति चाहिएको छ । त्यो नयाँ राजनीतिक शक्ति अहिलेका राजनीतिक दल र तीनका नेता कार्यकर्ताबाट यहि अवस्थामा बन्न सक्दैन भनेर ठोकुवा गर्न सकिन्छ ।
किनभने नेपालको राजनीति नितान्त व्यक्तिगत र गुटगत स्वार्थमा चुलुम्म डुबिसकेको छ । यसबाट माथि आउन सामान्य ढंगले संभव छैन । यो निराशावादी दृष्टिकोण नभएर विगत अढाई दशक यताको नेपाली राजनीतिको वास्तविकता हो ।
जवसम्म नेपालको राजनीति गुलाम, चाकर, दलाल जस्ता कार्यबाट मुक्त हुदैन, तबसम्म देश सबै प्रकारका माफिया, तस्कर र कालाबजारीयाको चंगुलबाट मुक्त हुन सक्दैन । अझ पछिल्लो समयमा राजनीतिमा इमानदारिता, वलिदान, इतिहास, नैतिकता भन्दा रुपैया पैसाको खुलम खुला बढ्ता चलखेल भइरहेको छ । अहिलेको नाकाबन्दी पनि त्यसैको निरन्तता हो भन्दा फरक पर्दैन ।
त्यसैले चाहे पुरानालाई नयाँ बनाऔं वा नितान्त नयाँ बनाऔं त्यसका लागि सबैभन्दा पहिला जो कोहीले आफूलाई बदल्न सक्नु पर्दछ । आफूलाई अग्रगामी रुपान्तरण गर्दै अरुलाई रुपान्तरणमा लाग्न प्रेरित गर्नुपर्दछ ।
पुरानै सोच, चिन्तन, प्रवृति र विचार बोकेर नयाँ बन्न सकिदैन । पुराना चिज छोड्न पनि नसक्ने अनि नयाँ शक्ति बनाउछौं भन्नु भनेको समाजमा ‘हाँसोको पात्र’ मात्र बन्नु हो ।
हिजो नयाँ शक्ति भन्नेहरु आज को कहा छन भन्ने कुरा अहिले नयाँ शक्ति भन्नेहरुलाई राम्ररी नै थाहा होला ।
यहाँ प्रसड्ग बाबुरामको उठाए पनि सवाल अरु थुप्रै रामहरुको भएकाले दुनियाँलाई भ्रम फैलाउने भन्दा पनि आफ्नो अनुहार आफै ऐनामा राम्ररी हेरेर आफैद्धारा सञ्चालित हुदै स्वविबेकले परिचालन हुनु पर्दछ । अनिमात्र नयाँ शक्ति बनाउने कुराले सार्थकता पाउन सक्दछ ।
(लेखक ः  अग्रगामी युवा मोर्चाका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses