शान्ता चौधरीले गरिन् एमाले नेतृत्वलाई कडा प्रहार
चितवन । एमाले नेतृ शान्ता चौधरीले एमालेको चितवन भेलामा तहल्का मच्चाएकी छिन् ।आठ कक्षा पढ्दै गरेकी शान्ताले भेलामा राखेको विचार सुनेर पार्टीका शीर्ष नेताहरु पनि सोचमग्न भएका थिए।दुई दिने राष्ट्रिय भेलामा छलफलका लागि बनाइएका नौ वटा समूहमध्ये एउटा समूहकी नेता शान्ता थिइन्।समूहको तर्फबाट भेलामा सुझाव प्रस्तुत गर्दै उनले नेताहरुलाई जातिवादी भएको आरोप लगाइन्।
भेलाका सहभागीहरुका अनुसार शान्ताले भनिन–‘हाम्रो पार्टी कम्युनिष्ट रे, वर्गीय सवालमा काम गर्ने पार्टी रे। तर, अचम्म लाग्छ, हाम्रो पार्टी जातीय हुँदै गएको छ।’ उनले विभिन्न जातजातिका नाममा जनसंगठन बनाएपछि त्यसको परिणाम अहिले पार्टीले भोगिरहेको बताइन्।
उनको भनाई थियो–‘हलो जोत्नेको संगठन किन बनाइएन ? घास काट्नेको संगठन किन बनाइएन ? खलासी संगठन बनाएको खोई ? भारी बोक्नेको संगठन खोई ? तपाईंहरुले त्यता ध्यान दिनुभयो ? जातको पछाडि मात्र कुद्नुभयो, जातीय संगठन बताइन । कम्युनिष्ट पार्टीले वर्ग छाडेर जातिको पछाडि कुद्न हुन्छ कि हुँदैन ?’
पार्टीले जातीय संगठन बनाएर कार्यकर्तालाई जातीय कुरा गर्न मात्र सिकाएको भन्दै उनले आक्रोश पोखिन–‘कम्युनिष्ट पार्टीमा विचारको चर्चा हुनुपर्ने हो तर विचार होइन जातथरको चर्चामा हामी अल्मलिएका छौ ।
जात अनुसार बेग्लाबेग्लै अधिकार हुन्छ भन्ने जनतामा भ्रम फैलाउनमा हाम्रो पार्टी पनि जिम्मेवार छ। जात अनुसारको अधिकार कसरी हुन्छ ?समावेसीकरणलाई अगाडि बढाइयो भने जातीय रुपमा पछाडि परेकाहरुको पनि उत्थान हुन्छ भन्ने किन नबुझेको ?’
देशमा गरिबमुखी राजनीति मरेको भन्दै उनले दस वर्ष जातको कुरा गर्दा पनि कुनै जातिको उन्नति भएन, वर्गीय राजनीति गरेको भए गरिबी निवारणमा ठोस काम हुनसक्थ्यो भनिन्।
उनको भनाई थियो–‘पार्टीको यो भेलाले मधेसी जनताको नाममा धन्यवाद प्रस्ताव पारित गर्नुपर्छ। ज्यान मार्ने धम्कीको प्रतिरोध गरेर मधेसी जनताले आन्दोलनको प्रतिरोध गरिरहेका छन्। आन्दोलनमा जर्बजस्ती लगिएका मानिस र आन्दोलन गर्ने पार्टीका कार्यकर्ता मात्र छन्। मधेसी जनता शान्तिको पक्षमा छन्।’
नेतृत्वलाई कडा प्रहार गर्दै उनले भनिन्–‘हाम्रै नेताहरुले पनि थारु आन्दोलन, मधेसी आन्दोलन भनेको सुन्छु। केही थारुले आन्दोलन गर्दा सबै थारुको आन्दोलन कसरी हुन्छ ? केही मधेसीले आन्दोलन गर्दा सबै मधेसीको आन्दोलन कसरी हुन्छ ?’ प्रदेश सीमांकन बारे पनि उनले पार्टी नेतृत्वलाई प्रहार गरेकी थिइन्।
सीमांकन सम्बन्धमा उनले भनिन्–‘थारु कल्याणकारिणी सभाले बहुप्रदेशको प्रस्ताव पारित गरयो। सम्पूर्ण थारु अगुवाहरुले त्यसलाई समर्थन गरेका थिए।
पहाडमा धेरै प्रदेश बनाउन मिल्ने, तराईमा किन नमिल्ने ? तराईमा दुईतीनवटा प्रदेश मात्र किन ? थारु बाहुल्य हुने गरी धेरैवटा प्रदेश बनाउँदा मात्र थारुको चित्त बुझ्छ। मधेसी नेताहरुको चित्त बुझाउने नाममा थारु समुदायको प्रदेश अपहरण गरियो भने ठिक हुँदैन।’
nepalsandesh
0 comments
Write Down Your Responses