भूकम्पपीडित रोजगारीको लोभमा बेचबिखनको उच्च जोखिममा
कञ्चनपुर, २५ मंसिर । गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि रोजगारीको लोभमा महिलाहरु पश्चिमी सीमा नाकाबाट हराउने तथा बेच्ने क्रम बढ्न थालेका छन् ।भूकम्पपछि दलालहरुले ललाइफकाई रोजगार दिने बहानामा महिलाहरु हराउने तथा बेच्ने क्रम बढेको मानव बेचबिखनविरुद्ध कार्यरत सङ्घसंस्थाले बताएका छन् ।
मानव बेच बिखनविरुद्ध कार्यरत माइती नेपाल कञ्चनपुरको तथ्याङ्कअनुसार मानव तस्करको ट्रान्जिट कञ्चनपुरका गड्डाचौकीलगायतका अन्य नाकाबाट सन् २०१५ मा २१६ महिला हराएका छन् ।
मोबाइल फोन, प्रेम सम्बन्धका कारण महिला हराउने तथा बेचिने क्रम बढेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार गड्डाचौकीबाट हराएकामध्ये ११ जनाको मात्रै उद्धार गरिएको छ ।
उद्धारका लागि २२७ को निवेदन परेको थियो । सन् २०१४ मा २१४ हराएकामा २० मात्रै फेला परेका थिए । तथ्याङ्कअनुसार गतवर्षको तुलनामा हराउने बेपत्ता हुनेको सङ्ख्या यसवर्ष बढेको हो । पोखराबाट सिधै दिल्ली बस सेवाका कारण पनि मानव बेचबिखन जोखिम बढेको माइती नेपाल कञ्चनपुरका संयोजक भट्टको विश्लेषण छ ।
हराएकामध्ये अधिकांश सुदूरपश्चिमका पहाडी जिल्लाका महिला छन् । खुला सिमानाले मानव बेचबिखन नियन्त्रण हुन नसक्दा यस क्षेत्रका महिलाको बेपत्ता हुने क्रम बढेको संयोजक भट्टको भनाइ छ ।
घरेलु हिंसा, खुला सीमा र मानव बेचबिखनका कारण गड्डाचौकी नाकाबाट सुदूर र मध्यपश्चिमका ३१ जिल्लाका किशोरी तथा महिला बेचबिखन तथा ओसारपसारको सिकार हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।
यसवर्ष कञ्चनपुरका सीमा क्षेत्रबाट बेचिन लागेका छजनाको उद्धार गरिएको छ । ८२ जनालाई सीमामा रोकथाम गरी घर फर्काइएको छ ।
गरिबी, देखासिकी प्रेम सम्बन्ध, मजबुरी र वैदेशिक रोजगारको महत्वाकाङ्क्षाका कारण १४ देखि १८ वर्षका किशोरी बेचबिखनको जोखिममा छन् । यसबाट सबैभन्दा बढी कञ्चनपुर जिल्ला प्रभावित रहेको माइती नेपालले जनाएको छ ।
यसवर्ष माइती नेपाल कञ्चनपुरले अदालतमा मानव बेचबिखनका दुई मुुद्दा दर्ता गरेको छ । मानव बेचबिखनविरुद्ध सङ्घसंस्था तथा सुरक्षा निकायको सक्रियताले बेचबिखनको मुख्य नाका गड्डाचौकीबाट भारत जाने महिला घटे पनि अहिले बेलौरी र दोधारा–चाँदनीको नाका बढी प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो ।
मुद्दाहरु अदालतमा विचाराधीन अवस्थामा छन् । खोजतलासका निवेदन बढी मात्रामा दर्ता भएको र बेपत्ता महिला न्यून मात्रामा फेला परेकाले उनीहरु बेचिएका हुन सक्ने आशङ्का गरिएको छ ।
dainiknepal
0 comments
Write Down Your Responses