एक सय १४ जनालाई पत्रकार परिचयपत्र वितरण
दाङ, २३ मंसिर । नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयअन्तर्गत सूचना विभागले दाङमा घुम्ती शिविरमार्फत दाङका ११४ जना पत्रकारलाई पत्रकार परिचयपत्र वितरण गरेको छ ।विभागको एक टोलीले सोमबार र मङ्गलबार दाङमा गरिएको घुम्ती शिविरका क्रममा ११४ पत्रकारलाई परिचयपत्र वितरण गरेको हो । यसैगरी सातजनालाई व्यवस्थापकीय प्रमुख, स्टेसन म्यानेजर र प्रकाशकको परिचयपत्र वितरण गरिएको छ ।
यसैगरी प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मालाई सम्मानार्थ परिचयपत्र वितरण गरिएको छ । विभागका अनुसार शर्मा यो परिचयपत्र पाउने देशभरकै पहिलो पत्रकार हुनुहुन्छ । यस्तै दुईजनाको परिचयपत्र नवीकरण, तीनवटा पत्रिकाका लागि टेलिफोन महसुल छुट र एउटा पत्रिकाको स्थायी दर्ता सिफारिस गरिएको छ ।
जिल्ला तहमा सक्रिय पत्रकारलाई विभागको परिचयपत्र वितरणमा सहजता होओस् भन्ने उद्देश्यले सूचना विभागले दुई वर्षदेखि घुम्ती शिविर अभियान थालेको हो । यसैबीच मङ्गलबार बिहान दाङमा तयार पारिएका परिचयपत्र सूचना विभागका महानिर्देशक लक्ष्मी बिलास कोइरालाले नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुदीप गौतमलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा महानिर्देशक कोइरालाले विभागको परिचयपत्र प्राप्त गरेका पत्रकारलाई परिचयपत्रको सही सदुपयोग गर्न आग्रह गर्नुभएको थियो ।
पत्रकार महासङ्घका अध्यक्ष गौतमले जिल्ला तहमै आएर विभागको परिचयपत्र वितरण गरेकोप्रति सराहना गर्दै विभागको टोलीलाई धन्यवाद दिनुभएको थियो ।
दाङमा परिचयपत्र वितरण गरेर यो टोली मङ्गलबार सल्यान हिँडेको छ । टोलीले सल्यान र रुकुम पुगेर परिचयपत्र वितरण गर्ने जनाएको छ ।
dainiknepal
0 comments
Write Down Your Responses