‘काठमाडौंलाई ठूलो धक्का दिन जरुरी छ’
९ माघ, काठमाडौं।
आन्दोलनरत मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम, नेपालको शुक्रवारदेखि जारी दोस्रो केन्द्रीय कार्यसमिति बैठकमा आज राजनीतिक, सांगाठनिक र आर्थिक प्रतिवेदन माथिको छलफल सुरु भएको छ ।

पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन माथि केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्ने क्रम जारी छ । मधेशमा जारी आन्दोलनलाई निष्कर्षमा पुर्याउन काठमाडौं केन्द्रीत आन्दोलन चर्काउनु पर्नेमा अधिकांश केन्द्रीय सदस्यहरुले जोड दिएका छन् ।
‘मधेशका जिल्लाहरु जस्तो काठमाडौं र जनजाति बाहुल्य क्षेत्रमा आन्दोलन उठ्न नसकेकोमा पार्टीले यसको कारण पत्ता लगाई समिक्षा गर्नु पर्छ’, केन्द्रीय सदस्य विर बहादुर लामाले बैठकमा भने, ‘काठमाडौंलाई ठूलो धक्का दिन जरुरी छ ।’ ‘शान्तिपूर्ण रुपमा पाँच महिनादेखि आन्दोलनरत मधेशी जनताको टाउको र छातीमा ताकी ताकी गोली हानी हत्या गर्न पल्केको सरकारलाई तह लगाउन काठमाडौं केन्द्रीय आन्दोलन चर्काउनै पर्छ’– लामाले भने ।

पहिचान र अधिकारका लागि प्रहरीको गोली खाएर मधेशी जनता सडकमा मरिरहँदा पनि काठमाडौं र जनजाति बहुल क्षेत्रमा आन्दोलन उठ्न नसकेकोप्रति उनले चर्को असन्तुष्टि पनि पोखेका छन् । केन्द्रीय सदस्य विश्वनाथ पटेलले मधेश आन्दोलनमा चरम दमन भएकोले सरकारलाई अन्तर्राष्ट्रिय अदालत उभ्याउनका लागि तत्काल पहल थाल्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । यसैगरि, केन्द्रीय सदस्य आरसी तुङ्बाले वार्ता भन्दा पनि माग तुहाउन सरकार चरम दमनमा उत्रेको भन्दै चर्को असन्तुष्टि पोखे । आन्दोलन सँगै राजनीतिक गतिरोध अन्त्यका लागि पार्टीले ठोस कदम चाल्न पनि उनीहरुको सुझाव छ ।

राजनीतिक प्रतिवेदनमा वर्तमान राजनीतिक परिस्थिति, संविधानसभा प्रतिक्रान्तिको साधन र नयाँ संविधान प्रतिक्रान्तिको उपज, नयाँ संविधानका प्रतिगामी तथा यथास्थितिवादी धाराहरु, समानुपातिक समावेशी लोकतन्त्रको कसीमा नयाँ संविधान, प्रतिगामी संविधान विरुद्धको सदन र सडकमा पार्टीको संघर्ष, तराई–मधेस–थरुहटमा आन्दोलन र विद्रोह, मोर्चा र सरकारबीच भएको वार्ता लगायतका विषयबस्तु समेटिएको छ ।nepaliheadline
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses