बायोमेट्रिकका कारण म्यानमारले कामदार मलेसिया नपठाउने
काठमाडौं: नेपालमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणाली लागू गर्ने तयारी भइरहँदा म्यानमारले भने यही प्रणाली कार्यान्वयन गर्न खोज्दा आफ्ना कामदार मलेसिया कामदार नपठाउने निर्णय गरेको छ।

बायोमेट्रिक प्रणालीबाट जाने कामदारको खर्च ह्वात्तै बढ्ने भन्दै म्यानमारका म्यानपावर एजेन्सीले मलेसियामा कामदार पठाउन रोक्ने निर्णय गरेका हुन् ।

बायोमेट्रिक प्रविधिबाट स्वास्थ्य परीक्षण निकै महँगो हुन्छ।

नेपालमा सामान्य प्रविधिबाट परीक्षण गर्दा २५ सय हाराहारीमा मात्र शुल्क लाग्ने गरेकामा बायोमेट्रिक परीक्षण गर्न थालेपछि स्वास्थ्य व्यवसायीले ४६ सयसम्म परीक्षण शुल्क लिन थालेको जाने कामदारको भनाई छ। बायोमेट्रिक लागू गर्नुअघि सरकारले परीक्षण शुल्क बढाउन अनुमति दिएको थियो।

बायोमेट्रिक कम्प्युटर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्ने अत्याधुनिक प्रविधि हो। यसमा परीक्षणलगायतका सबै काम अनलाइन पद्धतिमा सञ्चालित हुन्छ।
म्यानमार टाइम्स दैनिकका अनुसार मलेसियाले 'वान स्टप सर्भिस सेन्टर' तथा ‘फरेन वोर्कर सेन्ट्रलाइज म्यानेजमेन्ट सिस्टम' कार्यान्वयनमा ल्याएको छ।

यस योजना अनुसार म्यानमारबाट मलेसिया जाने कामदारको भिसा प्रोसेसिङ तथा सेवा शुल्क ६ अमेरिकी डलरबाट बढेर ५७ डलर पुगेको छ। वान स्टप सर्भिस सेन्टरअन्तर्गत बायोमेट्रिक प्रणालीको स्वास्थ्य परीक्षण, भिसा प्रोसिङलगायतका काम पर्छन्। फरेन वर्कर सेन्ट्रलाइज म्यानेजमेन्ट सिस्टम अन्तर्गत बायोमेट्रिक प्रणालीको स्वास्थ्य परीक्षण पर्छ।
नेपालमा बायोमेट्रिक लागू गर्ने वा नगर्ने भन्नेमा चर्को विवाद छ।
म्यानमार टाइम्सले लेखे अनुसार मलेसियाले बढेको शुल्क नघटाएमा त्यहाँ कुनै पनि हालतमा कामदार नपठाउने म्यानमारका एजेन्सीले निर्णय गरेका छन्। मलेसियाको सट्टा अन्य श्रम गन्तव्यको खोजी गरिने जानकारी दिएका छन्। मलेसियाले म्यानमारबाट दुई लाख कामदार लिने तयारी गरेको थियो।

मलेसियाले नेपाल, म्यानमार, इन्डोनेसिया, भारत तथा पाकिस्तानमा क्रमशः बायोमेट्रिक प्रणाली कार्यान्वयन गर्न खोज्दैछ । म्यानमार सरकारले मलेसियासँग शुल्क घटाउन कूटनीतिक पहल गर्ने तयारी गरेको छ।

नेपालमा बायोमेट्रिक लागू गर्ने वा नगर्ने भन्नेमा चर्को विवाद छ। केही ठूला मेडिकल व्यवसायी लागू गर्नुपर्ने पक्षमा छन् भने म्यानपावर कम्पनी र साना मेडिकल व्यवसायीले कुनै पनि हालतमा यो प्रणाली कार्यान्वयनमा ल्याउन नहुने भन्दै विरोधमा उत्रिएका छन्।

नेपाल सरकारले गत असारमा परीक्षण कालका रूपमा ६ महिनाका लागि बायोमेट्रिक प्रणाली लागू गर्न दिएको थियो । परीक्षण अवधि पुसमा सकिएको छ । अब नियमति कार्यान्वयन गर्ने वा नगर्ने भनेर निर्णय भएको छैन।

मलेसिया सरकारले छानेको ३९ वटा मेडिकलले मात्र जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाएका छन्। स्वास्थ्य परीक्षण गर्न दुई सय ८४ वटा मेडिकल सूचीकृत भएका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालले कामदारको लागत खर्च बढ्ने भएपछि म्यानमारले मलेसियामा कामदार पठाउन रोक्ने निर्णय गरेको जानकारी दिए। 'नेपालबाट जाने कामदारको स्वस्थ्य परीक्षण शुल्क २५ सयबाट बढेर २६ सयसम्म पुगेको छ।

कामदारको लागत खर्च बढ्ने भएकाले यो प्रणाली कुनै पनि हालतमा लागू नगर्न हामीले बारम्बार आग्रह र विरोध गरे पनि सरकारले सुनेन,' उनले भने। नेपाल सरकारले हाल परीक्षणका रूपमा बायोमेट्रिक प्रणाली कार्यान्वयन गरेको भए पनि अब यसबाट पछाडि हट्न कठिन हुने उनले बताए।

सरकारले कूटनीतिक पहल बढाएर श्रम सम्झौता गर्न सकेमात्र कामदार मारमा पर्नबाट जोगिन सक्ने उनको भनाई छ।उता, बायोमेट्रिक प्रणालीको विरोध गरिरहेका मेडिकल व्यवसायीले आफ्नो यही प्रणालीका कारण आफूहरूको व्यापार चौपट्ट भएको बताएका छन्।

सरकारसँग बायोमेट्रिक सुरू गर्दा सहमति गरिएका विषय कार्यान्वयन नभएको उनीहरूको दाबी छ । सबै मेडिकलले बायोमेट्रिक प्रविधिबाट स्वास्थ्य परीक्षण गराउन पाउने मुख्य सहमति भए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन। आठ हजार अमेरिकी डलर तिरेर बायोमेट्रिक प्रविधि उपलब्ध हुने व्यवसायी बताउँछन्।

नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले दुई सय ८४ वटा स्वास्थ्य परीक्षण गर्ने मेडिकल सूचीकृत भए पनि ३९ वटाबाहेक बाँकीलाई अहिलेसम्म परीक्षण गर्ने अनुमति नदिइएको बताए।'जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नपाउँदा मेडिकल नै बन्द गर्नुपर्ने अवस्था उत्पन्न भएको छ,' उनले भने।

मलेसिया सबैभन्दा धेरै नेपाली कामदार गएको मुलुकमा पर्छ । हाल त्यहाँ आठ लाख नेपालीले काम गरिरहेका छन्। सरकारले निःशुल्क टिकट र भिसामा मात्र मलेसिया कामदार पठाउन पाउने व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन।

निर्णय गरे पनि नियमन गर्न नसक्दा जाने कामदारले अझै डेढ लाख रूपैयाँसम्म तिर्नुपरेको हो। पछिल्लो समय मलेसियाको अर्थतन्त्रमा आएको मन्दी तथा राजनीतिक अस्थिरताले त्यहाँको मुद्राको भाउ घट्दोक्रममा छ। नेपाल पठाउँदा सटही दर निकै घट्ने भएकाले त्यहाँ जाने कामदारको संख्या ह्वात्तै घटेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।
annapurnapost
, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses