वैद्यद्वारा प्रचण्डको प्रसंशा, बाबुरामको आलोचना
काठमाडौं– नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिष्टहरुबीचको एकता अहिलेको आवश्यकता रहेको बताएका छन् । राजधानीमा कृष्णदासले श्रेष्ठद्वारा लिखित भौतिकवादको विकासको इतिहास र माक्सवादी सौन्दर्य चिन्तन नामक दुई पुस्कत विमोचन कार्यक्रममा बोल्दै उनले क्रान्तिकारी कम्युनिष्टहरु एक हुनुपर्नेमा सबैको एक मत भएपनि विभिन्न समस्या भने कायमै रहेको बताए । ‘एकता आवश्यकता हो भन्ने कुरा हामी सबैको मिल्छ । तर यो भन्दा बढी कुरा गर्न मलाई अलि अप्ठेरो छ ’, उनले भने । एमाओवादी अध्यक्ष प्रचण्डको समेत सहभागिता रहेको उक्त कार्यक्रममा वैद्यले प्रचण्डको खुलेर प्रशंशा गरेका थिए ।

दुई माओवादीबीच एकताको प्रक्रिया चलिरहेको बेला वैद्यले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै सो क्षमता प्रचण्डमा रहेको बताए । प्रचण्डको प्रसंशा गर्दै उनले भने, ‘प्रचण्ड सक्षम भएको कुरा मैले बारम्बार भनेको र लेखेको पनि छु , अहिलेसम्म पनि सक्षम नेताको रुपमा मैले पाएँ । ’ उनले प्रचण्डसँग विशष अनुरोध गर्दै एकताका लागि वैचाकिरता मिलाउन आग्रह समेत गरे ।

वैद्यले कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरबादीको प्रभाव बढेर गएको भन्दै अहिले ६ टुक्रामा रहेको माओवादीलाई एक गर्न गम्भीर चुनौति रहेको र त्यसका लागि मेहनत पनि गरेका गरिरहेको बताए ।

बाबुराम भट्टराईको कडा आलोचना गर्दै वैद्यले उनले भनेको नयाँ शक्ति भ्रमको खेती मात्रै भएको बताए । ‘अहिले नयाँ भन्ने प्रचलन छ, नयाँ भन्दाभन्दै बाबुरामजीले पनि नयाँ शक्तिकै नाममा पार्टी खोल्न लागेको सुनिएको छ तर यो नयाँसयाँ होइन पुरानै हो।’ उनले यसो भन्दा मञ्चमा हाँसोको फोहरा समेत छुटेको थियो ।

सो क्रममा प्रचण्डले मात्रात्मक रुपमा कम्युनिष्ट आन्दोलनको विकास भएपनि गुणत्मकतामा ह्रास आएको स्वीकार गरे । उनले सच्चा कम्युनिष्ट एकता हुनु अहिलेको आवश्यकता रहेको भन्दै भने, हिजो दायाँबायाँ बसेर एकअर्कालाई संकाको गर्यौकि ? तर, हिजो एउटै एउटै भएकाले हाम्रो रगत एउटै रहेको छ । त्यसैले अब मनोगतवादी कमजोरीको समिक्षा गरेर आन्दोलनलाई एकताबद्ध बनाउने बेला आएको छ ।’
उनले राष्ट्र र जनता अप्ठेरोमा भएकाले यसलाई पार लगाउन नयाँ विकल्प खोजी गर्नुपर्ने आवश्यकता समेत औंल्याए ।

पुस्तक विमोचन प्रचण्ड र वैद्यले संयुक्त रुपमा गरेका थिए भने पुस्तकमाथि बोल्दै उनीहरुले कम्युनिष्ट आन्दोलनमा बुर्जुवा संस्कृतिको बोलाबाला रहेको बेला असली माक्र्सवाद बुझ्न पुस्तक सहयोगी बन्ने विस्वास व्यक्त गरे ।

ratopati
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses