संविधान संशोधनबारे मोर्चाका कुन नेताले के भने ?
आइतबार, १० माघ
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पाँच महिनाभन्दा बढी समयदेखि जारी मधेस आन्दोलनलाई सम्बोधन गर्न गरिएको संविधान संशोधनले आफूहरुको मागलाई सम्बोधन नगर्ने जनाएको छ ।
मोर्चामा आवद्ध दलका सांसदहरुको चर्को नारावाजी र अवरोधबीच संविधान आएको चार महिना लगत्तै शनिबार राति संशोधन गरिएको छ ।
मोर्चाले उठाउँदै आएको प्रमुख मागमध्येको जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र राज्यका सम्पूर्ण अंग, तह र निकायमा समानुपातिक समावेशी प्रतिनिधित्को माग सम्बोधन गर्ने गरी संसदले शनिबार संविधान संशोधन गरेको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधनले मधेस आन्दोलन, आदिवासी र जनजातिले उठाएको मुद्दालाई सम्बोधन नगरेको बताए ।
‘जर्वजस्ती संविधान जारी गर्ने र त्यसको कार्यान्वयन नहुँदै जर्वजस्ती संशोधन गर्नु नेपालको इतिहासमा घृणित कार्य भएको छ, यादवले भने ‘संविधानको औचित्य नै समाप्त भएको छ ।’
उनले कांग्रेस र एमालेले आफ्नो पार्टी भित्रको आन्तरिक समस्या मिलाउन मात्र संशोधनको नाटक गरेको प्रतिक्रिया दिए ।
‘आन्दोलनकारीसँग सम्झौता नगरी ल्याइएको संशोधन काम लाग्दैन । यो हाम्रो लागि ल्याइएकै होइन, यादवले भने ‘विदेशीहरुलाई संविधान संशोधन गर्यौ भनेर भ्रम छर्न खोजिएको छ । यसले समस्या हल गर्दैन ।’
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि आफूहरुको मागलाई संशोधनले वेवास्ता गरेको भन्दै आन्दोलन जारी रहने संकेत गरे । उनले संशोधनले मधेसको मागलाई सम्बोधन नगर्ने उल्लेख गरे ।
मोर्चाका अर्का घटक दल तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले अहिलेको संशोधनले पनि जनसंख्याका हिसाबमा मधेसको वास्तविक प्रतिनिधित्व नगराउने बताए ।
प्रमुख तीन दल र मोर्चा सम्मिलित कार्यदलमा समेत काम गरेका रायले कार्यदलमा भएको एक स्तरको अनौपचारिक सहमतिभन्दा पनि अहिलेको संशोधन पछाडि फर्केको प्रतिक्रिया दिए ।
आन्दोलनको मागअनुसार समानुपातिक समावेशी प्रतिनिधित्वको कल्ष्टर पनि निमिलाइएको उनले जनाए । मोर्चाको आईतबार बस्ने बैठकले आधिकारिक निर्णय लिने रायले बताए । आजको कान्तिपुरमा समाचार छ ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses