संविधान संशोधनपछि राजेन्द्र महतोको अर्काे घोषणा, भन्छन्- अब अन्तिम लडाइँ
बिराटनगर, १० माघ । संविधानमा संशोधन भएपनि मधेशी मोर्चाको आन्दोलन नरोकिने भएको छ ।तीन दलद्वारा आपसी सहमतिमा भएको संविधानको पहिलो संशोधनपछि आन्दोलन रोकिने अनुमान गरिएपनि आन्दोलन नरोकिने देखिएको छ । संविधान संशोधनपछि आफ्नो पहिलो प्रतिक्रिया दिँदै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सीमांकनको मांग पूरा भए बिना कुनै हालतमा आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।
विराटनगरमा पत्रकारहरूसंग कुरा गर्दै महतोले तीन दलले मधेसमाथि बेईमानी गरेको आरोप लगाए । उनले भने– ‘पहिले संविधान बनाउँदा बेईमानी पछि संविधान संशोधनमा बेईमानी गरे ।’ हाल भएको संविधान संशोधनबारे प्रतिक्रिया दिँदै महतोले शब्दको जालमा मधेश आन्दोलनलाई फसाउने षड्यन्त्र गरिएको बताए ।
पत्रकारहरूको प्रश्नको जवाफ दिंदै महतोले सीमांकन मधेशी जनताको प्रमुख माग रहेको बताउँदै त्यो पूरा नभएसम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने बताए । उनले भने– ‘सीमांकनको लागि हाम्रो दबाब अझै पुगेन, काठमाडौंमाथि दबाब बनाउन मधेशमा आन्दोलनरत सबै पक्षलाई मिलाएर महागठबन्धन बनाउने प्रयास शुरू गरेका छौं । अब अन्तिम लडाइँ हुन्छ ।’ महतोले सीमांकनलाई सहमतिको बटम लाईन बताउँदै मधेशमा दुई प्रदेशको लागि चाँडै नै महागठबन्धन बनाई आन्दोलन नयाँ ढंगले अगाडि बढाउने बताए ।
आन्दोलनको स्वरूप परिवर्तन र नाकाबन्दी खोल्ने सवालमा महतोले भने– त्यो मोर्चाको बैठकले तय गर्ने हो । भोलि सोमवार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक काठमाडौंमा हुने र त्यस बैठकले आन्दोलनको स्वरूप, आन्दोलनको आगामी कार्यक्रमहरू तय गर्नेछ ।’ उनले आफ्नो पार्टीको तर्फबाट आन्दोलनरत सबै पक्षलाई मिलाएर महागठबन्धन बनाई अघि बढ्ने प्रस्ताव बैठकमा लैजाने बताए ।
मोरंगको रंगेलीमा भएको हिंसक झडपमा ज्यान गुमाएका आन्दोलनकारीको परिवारलाई भेट्न बिराटनगर आई पुगेका सदभावना अध्यक्ष महतोले शनिवार रंगेली, डायनियां र बरडेंगा गई मृतक परिवारलाई भेटेका थिए । साथै धरान गई उपचार गराई रहेका घाईतेहरू लाई पनि भेटेका थिए ।
dainiknepal
0 comments
Write Down Your Responses