मधेस समाधान खोज्न आज शीर्ष बैठक
काठमाडौं : मधेसी मोर्चाले राखेका मागका सम्बन्धमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।अपरान्ह तीन बजे बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु सहभागी हुनेछन्।
मधेसी मोर्चाका माग र संसद्मा विचाराधिन संविधान संशोधनका बारेमा छलफल गर्न बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले अन्नपूर्ण अनलाइनसँग बताए।
सहमतिका लागि मधेसी मोर्चालाई माघ ९ गतेसम्म पर्खिने समझदारी बनेपछि संविधान संशोधन विधेयकलाई केही दिन पेन्डिङमा राखेर दलहरु निकास खोज्न थप छलफलमा जुटेका हुन्। मोर्चाका मागमा तीन दलबीच साझा अवधारणा बनेपछि मधेसी मोर्चासँग थप छलफल हुनेछ।
संसद् बैठक बस्नुअघि संसद् भवन नयाँ बानेश्वरमा मंगलबार अपरान्ह बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा माघ ९ सम्म पर्खिने सहमति भएको हो। मोर्चासँग थप वार्ता गरेर सहमति जुटाएर अघि बढ्ने कि विचाराधिन संविधान संशोधन विधेयकलाई पारित गर्ने भन्ने बारेमा तीन दल नै एकमत हुन सकेका छैनन्।
प्रधानमन्त्री ओली र एमालेका नेताहरु मोर्चाले एकपछि अर्को माग थप्दै सहमतिलाई जटिल बनाउँदै लगेकोले अब संविधान संशोधन विधेयकलाई रोक्न नहुने अडान राखेका थिए।
त्यसैगरी नेपाली कांग्रेस र एमाओवादीका नेताहरु मोर्चासँग थप छलफल गरेर सहमति जुटाउनुपर्ने, केही दिन संसद् स्थगित गर्नुपर्ने र सहमतिकै आधारमा संविधान संशोधन विधेयक पारित गर्नुपर्ने पक्षमा देखिएका छन्।
मधेसी मोर्चासँग सोमबार भएको वार्ता निश्कर्षबिहिन भएपछि सहमतिको वातावरण फेरि बिथोलिएको हो। प्रदेशहरुको सिमांकनमा पुनरावलोकन गरेर राजनीतिक संयन्त्रमार्फत तीन महिनाभित्र यसलाई टुंगो लगाउन तीन दल सहमत भए पनि सम्पूर्ण तराईलाई दुई प्रदेश बनाउने लिखित प्रतिबद्धता मोर्चाले मागेपछि सोमबारको वार्ता विफल भएको थियो।
मोर्चासँग सहमति जुटाउने प्रयास स्वरुप संसद्मा सैद्धान्तिक छलफल भइसकेको संविधान संशोधन विधेयकलाई अड्काएर राखिएको छ। सहमतिका लागि दलहरुलाई मौका दिन पन्ध्र दिनसम्म संसद् स्थगित गरिएको थियो। यसबीचमा कार्यदल स्तर र शीर्ष तहमा भएका छलफल सकारात्मक भए पनि सोमबारको बैठकमा एकाएक सहमतिको वातावरण बिथोलिएको हो।
तीन दलले मोर्चाले नयाँ माग थप्दै सहमतिको संभावनालाई जटिल बनाउँदै लगेको आरोप लगाएका छन् भने मोर्चाले तीन दल पुरानै अडान फर्किएकोले सहमति हुन नसकेको प्रतिक्रिया दिएको छ।
annapurnapost


0 comments
Write Down Your Responses