तीन वर्षभित्र सबै गाविसमा सडक
२०७२ माघ ७ बिहीवारकाठमाडौं: सरकारले सडक सञ्जालले छुन बाँकी करिब पाँच सय गाउँ विकास समितिलाई तीन वर्षभित्र जोड्ने भएको छ।
हिमाली जिल्लाका चट्टानयुक्त ठाउँबाट सडक निर्माण गर्नुपर्ने भएकाले नखोलिएका सडकलाई जतिसक्दो चाँडो काम गर्ने गरी तयारी भइरहेको हो।स्थानीय विकास मन्त्रालयको निर्देशनमा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले सबै गाविसमा पुग्ने सडक बनाउने तयारी गरिरहेको हो।
विभागका महानिर्देशक रामकृष्ण सापकोटाले मन्त्रालयबाट सडक नपुगेका मुलुकका बाँकी गाविसमा जतिसक्दो चाँडो ट्र्याक खोल्न निर्देशन आएकाले सोहीअनुुसार कार्ययोजना तयार पारिरहेको जानकारी दिए। उनले भने, ‘गत वर्षको सर्वेक्षणमा पाँच सय ८४ गाविसमा सडक पुग्न बाँकी थियो।
त्यसमध्ये करिब एक सय गाविसमा सडक पुर्याएका छौं । बाँकी चार सय ८० गाविसमा तीन वर्षभित्र सडक पुर्याउने तयारी हुँदैछ। त्यसका लागि करिब १५ अर्ब रुपैयाँ लाग्नेछ।' विभागले केही दिनमे कार्ययोजना बनाई मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेको सापकोटाले बताए।
पाँच सय ८४ गाविस जोड्न सात हजार दुई सय ६८ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा अब चार सय ८० गाविस जोड्न ६ हजार ३८ किलोमिटर सडक निर्माण गर्नुपर्ने विभागको तथ्यांक छ।
विभागको स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमको तथ्यांकअनुसार पाँच सय ८४ गाविसमध्ये ताप्लेजुङका २३, पाँचथरका २०, इलामका पाँच, मोरङको एक, धनकुटाको एक, संखुवासभाका १०, भोजपुरका १२, सोलुखुम्बुका १९, ओखलढुंगाका ११, खोटाङका २८, उदयपुरका १४, सिन्धुलीका २४ र रामेछापका दुईवटा गाविसमा सडक पुगेको छैन।
ललितपुरको एक (ठूलादुर्लुङ), दोलखाका दुई, सिन्धुपाल्चोकका दुई, काभ्रेका सात, नुवाकोटका ६, रसुवाका ६, धादिङका पाँच, मकवानपुरका १०, चितवनको एक (चण्डीभञ्ज्याङ), गोरखाका ११, लमजुङका सात, तनहुँका तीन गाविस सडकले छोएको छैन।
यस्तै कास्कीका तीन, मनाङका पाँच, म्याग्दीका १४, बागलुङका नौ, गुल्मीका दुई, पाल्पाका तीन, प्युठानका दुई, रोल्पाका १६, रुकुमका २३ र सल्यानका पाँच गाविस पनि सडकसँग जोडिन बाँकी छ।
सुर्खेतका ११, दैलेखका १३, जाजरकोटका २०, डोल्पाका १५, जुम्लाका पाँच, कालीकोटका २७, मुगुका १९, बाजुराका २१, बझाङका २७, अछामका १५, कैलालीका तीन, डडेल्धुराका पाँच र दार्चुलाका १५ गाविसमा पनि सडक पुग्न बाँकी छ। सबैभन्दा बढी गाविस ४२ वटामा सडक नपुगेको जिल्ला बैतडी हो भने सबै गाविसमा २७ वटामै सडक नपुगेको जिल्ला हुम्ला हो।
पूर्वाधार क्षेत्रगत कार्यक्रमका इन्जिनियर लक्ष्मण दही श्रेष्ठका अनुसार काभ्रे र सिन्धुपाल्चोक जोड्ने इन्द्रावती कोरिडरमा कडा चट्टानका कारण पूरा गर्न कठिन भएको हो। उनले भने, 'गाविस जोड्न बनाइएको २२ किलोमिटर सडक प्रयोगहीन छ।'
कार्यक्रमका संयोजक गंगाबहादुर बस्नेतले भौगोलिक रूपमा सहज गाविसमा सडकले जोड्ने काम भइसकेको र बाँकी रहेकामा एकदमै कठिन अवस्था रहेको जानकारी दिए। उनका अनुसार हिमाली जिल्लामा जंगल र कडा चट्टान रहेकाले कठिन भएको हो।
annapurnapost


0 comments
Write Down Your Responses