जब काठमाडौंमै सुरु भो १४ सय ४० मिनेटको रात्री जीवन
नेपालमा अरू कुराको विकास ढिलो भैरहेको छ तर केही कुरामा हामी अगाडि छौं । उदाहरणका लागि काठमाडौंको रात्रिजीवन । काठमाडौंका मुख्य स्थानहरूमा अब कहिल्यै निदाउनेछैन । सम्भवत: नयाँ वर्ष २०७३ सँगै काठमाडौंका दरबारमार्ग र ठमेलजस्ता आकर्षक स्थानहरू सधैंका लागि खुला रहनेछ । ती स्थानमा भएका डान्सबार, पब, लञ्चबार, डिस्कोथेक, दोहोरी, लाइभ कन्सर्ट तथा मसाज पार्लरहरूमा प्रशासनले लगाउँदै आएको अघोषित र घुमाउरा नियमलाई खुकुलो बनाउने निर्णय गरेको छ । अब ती स्थानमा बिनाकारण बर्दी लगाएका कुनै पनि सुरक्षाकर्मी पस्ने छैनन् भने व्यवसायीहरूले पनि नियमभित्र बसेर चौबीसै घण्टा सेवा दिन पाउनेछन् । सुरक्षा व्यवस्था कडा भएका विश्वका विकसित मुलुकमा कहिल्यै रात पर्दैन । त्यही नीति अनुसरण गर्दै काठमाडौं प्रशासनले पनि त्यस्तै खालको व्यवस्था मिलाउन लागेको हो ।
‘परिवर्तित समयको मागलाई मध्यनजर गर्दै सबैको परामर्शबाट हामीले रात्रिकालीन व्यवसायलाई थप व्यवस्थित बनाउने निर्णय गरेका हौं ।’ दरबारमार्गका डिएसपी रमेश बस्नेतले साप्ताहिकसँग भने, ‘संसारभरिका पर्यटकीय क्षेत्रमा प्रशासनले उचित सुरक्षा दिएर उनीहरूलाई स्वतन्त्र घुमफिर गर्ने वातावरण बनाउने गरेको छ । हामीले पनि नेपालको पर्यटनलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय व्यवस्थित गर्ने निर्णय गरेका हौं ।’ सरकार, पर्यटन व्यवसायी, रात्रिकालीन व्यवसायी एवं सुरक्षा निकायको परामर्शपछि यो निर्णय काठमाडौं प्रशासन कार्यालय पुगेको छ । व्यवसायीहरूका अनुसार नाकाबन्दीका कारण पर्यटक घटेपछि यो विषय तत्कालका लागि ओझेलमा परेको हो । अवस्था सहज भएपछि दरबारमार्ग र ठमेल क्षेत्र चौबीसै घण्टा खुल्नेछन् ।
काठमाडौं उपत्यकामा रात्रिकालीन व्यवसायको संख्या करिब ७ सय छ । ती स्थानमा करिब १५ हजार व्यक्ति रोजगार छन् । त्यसमध्ये पनि दरबारमार्ग र ठमेलमा मात्र यस्ता व्यवसायको संख्या ३ सय ५० भन्दा बढी छ र यहीँ १० हजार व्यक्तिले रोजगारी पाएका छन् । अन्य स्थानको तुलनामा सुरक्षा व्यवस्था राम्रो भएको र पर्यटकको चाप बढ्ने भएकाले पनि ती स्थानमा रात्रिकालीन व्यवसाय बढेको हो । यिनै व्यवसायलाई मध्यनजर गर्दै प्रशासनले ती क्षेत्र चौबीसै घण्टा खुला रहने व्यवस्था गर्न लागेको हो ।
के थियो अवस्था ?
२०४६ सालपछिको खुला परिवेशमा नेपाल घुम्न आएका पर्यटकलाई लक्षित गरेर काठमाडौंका मुख्य स्थानहरूमा डान्स बार, पब, डिस्कोथेक तथा गजल रेस्टुराँहरू खुल्न थालेका हुन् । मनोरञ्जन प्रेमी नेपालीहरू पनि ती रात्रिकालीन मनोरञ्जनतर्फ आकर्षित हुन थालेपछि यी व्यवसायहरू एकाएक फस्टाएका थिए । नेपालीहरू रात्रिजीवनमा आकर्षित हुन थालेपछि काठमाडौंमा दोहोरी रेस्टुराँहरूको बाढी नै आएको थियो । साँझ नपर्दै मस्त निदाउने काठमाडौं केही वर्षभित्रै मध्यरातसम्म पनि जागै हुन थालेपछि परम्परागत सोच भएका कतिपय मानिस यसको विरोधमा लागे । सँगै माओवादी द्वन्द्वका कारण झोस–पोल लगाउने र समस्या निम्त्याएर पैसा असुल गर्नेहरूको जमात बढ्दै गयो । बिस्तारै निकै उचाइमा पुगेको रात्रिकालीन व्यवसाय समस्यामा पर्न थाल्यो । ‘केही मानिस रात्रिकालीन मनोरञ्जनलाई बढी महत्व दिने र केही मानिसले नाक घुम्च्याउने कारणले यो क्षेत्र बद्नाम पनि भयो ।’ रात्रिकालीन व्यवसायी कमल भण्डारी भन्छन्, ‘सुरक्षा निकाय र प्रशासनका कतिपय मानिसले यसलाई कमाउने क्षेत्र पनि बनाए । जब उनीहरूको कमाइमा व्यवसायीहरूले अंकुश लगाउने प्रयास गर्थे, प्रशासन कडा भैदिन्थ्यो र यो व्यवसाय तहसनहस हुन पुग्थ्यो ।’
त्यसैले पनि कुनै बेला सयौंको संख्यामा खुलेका लोकदोहोरी रेस्टुराँहरू बन्द भएर अहिले औंलामा गन्न सकिने भएका छन् । कुनै बेला हजारभन्दा बढी युवतीलाई रोजगारी दिएको डान्स रेस्टुराँको संख्या पनि अहिले खुम्चिएको छ । त्यहाँका डान्सर युवतीहरू रोजगारीको खोजीमा भारत तथा खाडी मुलुक हुँदै अफ्रिकासम्म पुगेका र कतिपय बेचिएको तथ्य फेला परेको छ । ती स्थानमा अहिले रात्रिकालीन व्यवसाय चलिरहे पनि त्यसलाई कसरी चल्न दिने भन्ने निर्णय स्थानीय प्रहरी र प्रशासन कार्यालयको निर्णयमा भर पथ्र्यो । अब भने त्यसलाई नेपालको कानुनले दिएको अधिकार प्रयोग गरी खुला छाड्ने नीति बनाउन लागिएको हो ।
‘कुनै बेला हाम्रो नाइट लाइफ दक्षिण एसियामै उत्कृष्ट थियो । त्यतिबेला प्रशासनको वक्र दृष्टि र माओवादी द्वन्द्वका कारण रात्रिजीवन ध्वस्त भयो । त्यसले ठमेल जस्तो पर्यटकीय क्षेत्रलाई नीरस मात्र बनाएन, यहाँ काम गर्ने युवतीहरू शरीर बेच्न बाध्य भए । सक्नेहरू विदेश गए, कोही आफैं बेचिए, कोही अरूद्वारा बेचिए । नसक्नेहरू यहीं फुटपाथमा पनि शरीर बेच्न बाध्य भए ।’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायी भन्छन्, ‘पर्यटकहरू झुम्मिने र खर्च गर्ने भनेको यही रात्रिजीवनमा हो । सरकारले त्यो बेला रात्रिजीवनलाई व्यवस्थित गर्न छाडेर हतोत्साहित गर्यो । फलस्वरूप आज यो क्षेत्र पनि अन्य व्यवसायझैँ धर्मराएको अवस्थामा पुगेको छ ।’
अब यो कथा पुरानो भएको छ । रात्रिकालीन व्यवसायीहरूले पुराना तीता कुरा बिर्सन थालेका छन् । उनीहरू बन्न थालेको वातावरण बिग्रिएला भनेर पुरानो दोष प्रशासनलाई मात्र थुपार्न चाहँदैनन् । ‘हाम्रा पनि गल्ती थिए । हामीमा पनि चाँडै पैसा कमाइहालौं भन्ने भोक थियो, त्यसले पनि समस्या निम्तिएको हुन सक्छ ।’ ती व्यवसायी भन्छन्, ‘तर हाम्रो अभिभावक भनेको प्रशासन हो, सरकार हो । उसले हामीलाई व्यवस्थित बनाउन सक्नुपथ्र्यो ।’
अहिले ती स्थानमा पुग्दा पनि परिवर्तन अनुभव गर्न सकिन्छ । नाकाबन्दीका कारण खानेकुरामा समस्या आए पनि ग्राहकहरू समयको ख्याल नगरीकनै रमाइरहेका छन् । राति २ बजेसम्म दरबारमार्ग क्षेत्र वरपर भीडभाड देखिन्छ । उनीहरूलाई प्रहरीले पनि सुरक्षा दिइरहेको देखिन्छ ।
रात्रिकालीन व्यवसायका कारण संसारभरि पर्यटन व्यवसाय फैलँदै गएको तथ्य सरकार एवं सुरक्षा निकायले बुझेको महसुस गर्न थालेका छन् व्यवसायीहरू । नेपालको कानुनले निषेध गरेको बाहेक अन्य व्यवसायलाई स्वतन्त्र छाड्नुपर्छ र प्रशासनले यस्ता व्यवसायीलाई निरुत्साहित गर्नु हुँदैन भन्ने मत बलियो बन्दै गएपछि यो क्षेत्रमा लगानी बढ्न थालेको छ । वैशाखमा १२ मा भूकम्प जानुअघि ठमेल र दरबारमार्गका रात्रिकालीन व्यवसायमा करोडौं रुपैयाँ लगानी थपिएका थिए । भूकम्प र नाकाबन्दीपछि लगानीको क्रम रोकिए पनि ढिलो–चाँडो अवस्था सहज हुने विश्वासमा व्यवसायीहरू छन् । सम्भवत: त्यसैले विदेश पुगेका नेपाली नृत्यांगनाहरूलाई राम्रो पैसा दिएर रोजगारी दिन थालिएको छ । व्यवसायीहरू पैसा कमाइरहेका नवधनाढ्यहरूलाई विभिन्न सुविधा दिएर रात्रिकालीन जीवनमा अभ्यस्त बनाउन थालेका छन् ।
‘समान्यत: सुरक्षा दिन सकिन्छ कि सकिँदैन भन्ने प्रहरी प्रशासनको चिन्ता थियो । दरबारमार्ग क्षेत्रमा सबैतिर सिसी टिभीको सेवा पुगिसकेका कारण अब असुरक्षाको अवस्था छैन, त्यसैले पनि हामी सकारात्मक भएका हौं ।’ डिएसपी बस्नेत भन्छन्, ‘मुख्य कुरा, व्यवसायीहरू पनि पहिलेजस्तो कानुन मिचेर भए पनि रातारात पैसा कमाउँ भन्ने खालका छैनन् । कानुनी दायरामा बसेर व्यवसाय गर्न राजी भएका कारण पनि हामी उहाँहरूलाई चौबीसै घण्टा सुरक्षा दिन सक्षम भएका हौं ।’
विगतको द्वन्द्व
रात्रिकालीन जीवनमा प्रहरी र व्यवसायीबीच यति सुमधुर मिलन यसअघि कहिल्यै देखिएको थिएन । रात्रि जीवनको कुरा उठ्नेबित्तिकै गृहमन्त्री, नागरिक समाजदेखि स्थानीय प्रहरीसम्म नकारात्मक देखिन्थे । विशेष गरी तत्कालीन गृहमन्त्री वामदेव गौतम रात्रिकालीन व्यवसायप्रति निकै अनुदार थिए । उनले एउटा सर्वजनिक कार्यक्रममा रात्रिकालीन व्यवसाय गुन्डा र डनहरूले चलाएको र त्यसभित्र गलत क्रियाकलापसमेत हुने गरेको प्रमाण आफूसँग भएको बताएपछि त्यसले ठूलो चर्चा पाएको थियो । व्यवसायीहरूका अनुसार गृहमन्त्रीको उक्त अभिव्यक्तिपछि रात्रिजीवन मन पराउने सहरका भलाद्मी मानिसहरूको आगमन स्वाट्टै घट्यो । त्यति मात्र होइन, गौतमले राति ११ बजे पछि यस्ता रेस्टुराँ तथा बार बन्द गर्ने निर्णय गरे । ढिलो बन्द गर्ने रेस्टुराँहरूमा बर्दी लगाएका प्रहरी पस्न थालेपछि भारतीय पर्यटकहरू पनि डराए । ‘हाम्रो आम्दानीको मुख्य स्रोत भारतीय पर्यटक थिए ।
प्रहरीले हस्तक्षेप गर्न थालेपछि नेपालको यो पेसा गैरकानुनी हो भन्ने छाप भारतीय पर्यटकमा पर्न गयो, त्यसले गर्दा रात्रिकालीन व्यवसाय पूरै ध्वस्त बन्न पुग्यो ।’ रात्रिकालीन व्यवसायी रमेश लामाले भने, ‘यसले गर्दा हामीले नेपालमा मनोरञ्जन गर्न आउने भारतीय पर्यटक गुमायौं ।’
संयोग कि योजनाबद्ध ?
भारतमा सन् ७० को दशकमा रात्रिकालीन व्यवसाय प्रारम्भ भएको थियो । विशेषगरी तत्कालीन बम्बईमा डान्सबारहरू खुल्न थालेका थिए । हिन्दी चलचित्रमा तिनै डान्सबारमा नाच्ने युवतीलाई आइटम डान्सरका रूपमा प्रस्तुत गर्ने र त्यहाँ विभिन्न किसिमका अपराध हुने तथ्य देखाइने गरेको थियो । तैपनि सन् ८४ सम्म बम्बईमा केवल २४ वटा डान्स बारले मात्र अनुमति पाएका थिए । सुरक्षाका कारणले भारत सरकारले थप डान्स बारलाई अनुमति दिएको थिएन । हिप्पी संस्कृतिको त्यो युगमा डान्सबारहरू धेरै पैसा कमाउने र ठूला–ठूला अपराध हुने थलोका रूपमा विकसित भएपछि त्यसमा थप कडाइ गरियो ।
छिमेकी मुलुक भएका कारण डान्सबारको त्यो रन्को नेपालमा पनि छिर्यो । सुरुमा पाँचतारे होटलमा सञ्चालन हुने क्यासिनोहरूमा केही डान्सर नियुक्ति गरियो । जुवा खेल्न आउने भारतीय पर्यटकहरूले मन पराउन थालेपछि त्यसले चाँडै बजार लियो । डान्सबार तथा अन्य रात्रिकालीन मनोरञ्जनको माग बढ्न थालेपछि ठमेल एवं दरबारमार्गमा यस्ता व्यवसाय थपिन थाले । जसको उद्देश्य रात्रिजीवन मन पराउने तर भारतमा मनोरञ्जन गर्न नपाएका पर्यटकहरूलाई आकर्षित गर्नु थियो । त्यही बेला देशमा प्रजातन्त्र आएपछि यो क्षेत्र अझ खुला र मनोरञ्जनपूर्ण हुन पुग्यो । फलस्वरूप लगानीसमेत बढ्न थाल्यो ।
समयसँगै मनोरञ्जनको माग बढ्नु स्वभाविक थियो । त्यसैले मुम्बई प्रशासनले रात्रिजीवनमा गरेको कडाइ सन् १९८५ मा खुकुलो गर्न थाल्यो । परिणाम केही वर्षभित्रै मुम्बईमा ७ सय डान्सबार खुले जहाँ डेढ लाख नृत्यांगनाले काम पाए । मुम्बईमा आएको मनोरञ्जनको यो बाढीको छिटा काठमाडौंमा पनि परेको थियो । भारतका अन्य सहरहरूको तुलनामा मुम्बईपछि काठमाडौं नै यस्तो क्षेत्र थियो, जहाँ भारतीय पर्यटकहरू जुवा खेल्ने र रात्रिकालीन मनोरञ्जनमा भाग लिन पाउँथे । परिणामस्वरूप रात्रिकालीन जनजीवन व्यस्त हुन पुग्यो । यो क्षेत्रमा लाग्नेहरू रातारात करोडपति भए भने कतिपय रेस्टुराँ गुन्डा नाइकेहरूले चलाउन थाले । काठमाडौंका दरबारमार्ग र ठमेल मात्र होइन, धेरै मुख्य चोक गजल, डान्सबार तथा डिस्कोथेकले भरिए । भारतीय पर्यटकले भरिने यस्ता रेस्टुराँमा नेपालीहरूको पनि भीड बढ्न थाल्यो


0 comments
Write Down Your Responses