व्यवसायीले भरी सिलिन्डर ग्यास बाँड्ने
काठमाडौं: ग्यास उद्योग महासंघले आगामी आइतबारदेखि पूर्ण तौलको ग्यास सिलिन्डर वितरण गर्ने जनाएको छ ।  महासंघका अध्यक्ष शिवप्रसाद घिमिरेले सरकारले अनुमति नदिए पनि आइतबारदेखि १४.२ किलोको सिलिन्डर वितरण गर्ने दाबी गरे ।


आधी तौल (७.१ किलो) को सिलिन्डर वितरण गर्दा लागत खर्च बढेको र उपभोक्तालाई वितरण गर्न पनि असहज भएकाले सरकारले स्वीकृति नदिए पनि पूर्ण तौलकै सिलिन्डर वितरण गर्ने अध्यक्ष घिमिरेले बताए ।

‘पूर्ण तौलको सिलिन्डर वितरणका लागि सरकारसँग केही दिनअघिदेखि नै अनुमति मागेका हौं’, घिमिरेले भने, ‘सरकारले अहिलेसम्म अनुमति दिन सकेन । सरकारले अनुमति नदिए पनि आगामी आइतबारदेखि १४.२ किलोकै सिलिन्डर वितरण गर्छौं ।’

उनका अनुसार पछिल्लो तीन सातादेखि कुल मागको करिब ४० प्रतिशत आपूर्ति हुन थालेकाले पूर्ण तौलकै सिलिन्डर वितरण गर्ने तयारी गरेको बताए । उनले आधा सिलिन्डर ग्यास वितरण गर्दा ढुवानी र उत्पादन खर्च बढेको दाबी गरे ।

‘सरकारले बढेको खर्च दिने हो भने मात्रै हुन्छ, नभए हामी पूरा तौलको सिलिन्डर वितरण गर्न थाल्छौं । हामीले निर्णय गरिसकेका छौं’, उनले भने ।

घिमिरेले माग र आपूर्तिबीचको खाडल ठूलो हुँदा गलत मान्छेले फाइदा उठाउने सम्भावना बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारले नसकेको र उपभोक्ता पनि सचेत नभएको गुनासो गरे ।

सिलिन्डरमा कम ग्यास आएको भन्ने गुनासोमा उनले प्रत्येक डिलरले तराजु राख्नुपर्ने र उपभोक्ताले पनि तौलेर मात्र लिने बानी बसाए त्यस्तो समस्या नआउने दाबी गरे ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले पर्याप्त परिमाणमा ग्यासको आपूर्ति नबढेसम्म पूर्ण तौलको सिलिन्डर वितरण नगरिने जानकारी दिए । उनका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तत्काल ग्यासको लोडिङ बढाउन नसक्ने जबाफ दिएकाले तत्कालका लागि पूर्ण तौलमा जान सकिँदैंन ।

‘नियमित रूपमा पर्याप्त ग्यास आपूर्ति नहुँदासम्म र सरकारले निर्णय नगरे पनि पूर्ण तौलमा जान सकिँदैन’, प्रवक्ता घिमिरेले भने, ‘अहिले ७.१ किलोकै सिलिन्डर वितरण हुन्छ ।’ निगमका अनुसार अहिले दैनिक १५ बुलेटभन्दा बढीमा आईओसीले ग्यास लोड दिन सकेको छैन । माग भने दैनिक ५५ बुलेटछ ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईंले सरकारले नै कालोबजारी गर्ने तस्कर र माफियालाई संरक्षण गरेको आरोप लगाए । उनले नियमनकारी निकाय अक्षम हुँदा मुलुकमा कालोबजारी बढेको भन्दै अहिलेको अवस्थामा राज्य संयन्त्र नै असफल भएको दाबी गरे ।
annapurnapost
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses