देशभर जाडो बढ्यो, उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात
ताप्लेजुङ, माघ ६ । मौसममा अचानक आएको बदलीका कारण काठमाडौंलगायत देशका पहाडी भेगमा चिसो बढेको छ । मंगलबार राति काठमाडौंमा फाट्फुट वर्षासमेत भएको छ । मौसम बदली भएसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ ।हिमपातका कारण हिमाली क्षेत्रका जिल्लाको जनजीवन प्रभावित भएको छ । दुई फिटसम्म भएको हिमपातका कारण ताप्लेजुङका ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फले लगायतका जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
यस्तै जिल्लाका अन्य गाविस फाकुम्बा, साँघु, याम्फुदिन, कालीखोला, इखाबु, मामाङ्खे लगायतका उच्च भेगका गाविसमा समेत चिसो बढेको स्थानीयले बताएका छन् । चिसोको असर वृद्धवृद्धा र बालबालिकामा बढी परेको छ । डाँडातिर हिउँ परिरहँदा तल्लो भेगमा चिसो अधिक बढेको छ ।
ताप्लेजुङमा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । उता, बाजुरामा पनि भारी हिमपात भएको हाम्रा संवाददाताले जनाएका छन् । हिमपातसँगै बढेको चिसोले दैनिक जनजीवन प्रभावित भएको छ ।
यसैबीच लामो समयको खडेरीपछि हिमाली जिल्ला हुम्लामा आज विहानबाट हिमपात शुरु भएको छ । हिउँदे बाली सुक्न लागेको बेला हिमपात भएकाले किसानलाई राहत भएको छ ।
हिमपात सुरु भएपछि जिल्ला सदरमुकाम सिमिकोटको तापक्रम माईनस ७ डिग्रि सेल्सियस पुगेको छ । खानेपानीका धाराहरुमा बरफ जमेकाले पानी आउन छाडेको छ । चिसो बढेका कारण बजारमा मानिसहरुको चहलपहल कम भएको छ । सिमिकोट विमानस्थलमा हिउँ जमेकाले हवाईसेवासमेत बन्द भएको छ ।
imagekhabar


0 comments
Write Down Your Responses