कसरी हुन्छ संविधान संशोधन विधेयक पारित ? यस्तो छ तयारी
काठमाडौं, माघ ७ । संविधान संशोधन विधेयकमाथि विभिन्न सांसदहरुले दर्ता गराएका संशोधन प्रस्तावहरुमाथि व्यवस्थापिका–संसदमा विहीबारदेखि सैद्धान्तिक छलफल सुरु भएको छ ।विधेयकमा २४ ओटा संशोधन परेका छन् । ती २४ ओटै संशोधनकर्तालाई बैठकमा बोल्न समय दिइएको छ ।
यसअघि, बैठकले नियमावली मस्यौदा समितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको थियो ।
संशोधनमाथिको छलफल सकिएपछि कानुनमन्त्री अग्नि खरेलले प्रश्नहरुको जवाफ दिनेछन् भने त्यसपछि संविधान संशोधन विधेयक पारित गर्ने प्रक्रियामा जानेछ ।
प्रमुख दलहरुबीच शनिबारसम्म विधेयकमाथि छलफल चलाएर सहमतिको प्रयास गर्ने र सहमति नभए सोही दिन विधेयक पारित गर्ने सहमति भएको छ ।
संसदको विहीबारको बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरुले सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।
तराई–मधेस समस्या समाधान, भूकम्प प्रभावित जनतालाई राहत र कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको उनीहरुको आरोप थियो ।
बैठकमा कांग्रेस सांसदहरुले कृष्णप्रसाद भट्टराई आमसन्चार प्रशिक्षण प्रतिष्ठानबाट भट्टराईको नाम हटाउन खोजेको भन्दै आपत्ति जनाएका थिए ।
संसद बैठक सुरु भएलगत्तै मधेसी मोर्चासहित ६ ओटा दलले बहिस्कार गरेका थिए ।
संशोधन विधेयकले सबै समस्याको समाधान नगर्ने भन्दै संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टीले बैठक बहिस्कार गरेका हुन् imagekhabar


0 comments
Write Down Your Responses