काभ्रेको दुर्घटनामा अर्ध बेहोस हुँदै उद्धारमा खटिएकी कोपिला
भदौ १,काभ्रेको दुर्घटनामा अर्ध बेहोस हुँदै उद्धारमा खटिएकी कोपिला
काभ्रेको बिर्तादेउरालीमा सोमबार दुर्घटनामा परेको बसकी घाईते कोपिला गौतम मंगलबार राजधानीस्थित ट्रमा सेन्टरमा बुबा लक्ष्मण गौतमका साथ ।
'भयानक दुर्घटना सपनाजस्त लाग्छ'
काठमाडौं: अस्पतालको शय्यामा चार दिन बिताएर आराम खोज्दै घर फर्कंदै गरेकी काभ्रे ज्यामिरेकी २१ वर्षीया कोपिला गौतमले २४ घन्टामै अर्को अस्पतालको शय्यामा पुग्नुपर्यो एउटा भयानक दुर्घटनामा नयाँ जीवन पाएर र जीवनको याचना गरिरहेका धेरैलाई बचाएर । काभ्रेको बिर्तादेउराली, खहरेखोलामा सोमबार भएको दुर्घटनाकी साक्षी कोपिलाको राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक विभागमा उपचार भइरहेको छ ।
अनमीकी विद्यार्थी कोपिलाले आफ्नो घाइते शरीर घिसार्दै शक्ति रहुन्जेल दुर्घटनाका अन्य घाइतेलाई बचाउने कोसिस गरिन् । मंगलबार उनलाई भेट्न ट्रमा सेन्टर पुग्दा वरिपरि आफन्त र साथीभाइको भीड थियो ।
भीरबाट बस गुल्टिँदा आफू उछिट्टिएर पछारिँदा ढाड, घाँटी र हातमा चोट लागे पनि उनी आफू बाँचेकोमा खुसी छिन् । उनले सिट छोडिदिएका छिमेकी दुई वृद्धा आमाहरूको भने दुर्घटनामा ज्यान गयो
। बसयात्राका क्रममा तेस्रोपटक सिट छोडिदिएकी गाउँकी अर्की महिलाको गम्भीर अवस्थामा त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
अचानक बढेको ज्वरो र टन्सिलाइटिसका कारण सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गरी आइतबार डिस्चार्ज भएकी कोपिलाले आराम गर्ने र बुबाआमासँग भेट गर्ने योजना बनाउँदै सोमबार घर जान टिकट बुक गरेकी थिइन् । बिहान साढे सात बजे उनी कोटेश्वर पुगेर बस चढ्न खोज्दा भित्र ठेलमठेल यात्रु देखेर आश्चर्यमा परिन् ।
उनले बुक गरेको सिटमा एक बिरामी आमा बसेको देखेपछि उनी चुपचाप उभिइन् । आफूलाई सन्चो नभएको र उभिएर घरसम्म जान नसक्ने भनी पटकपटक अनुरोध गरेपछि बसका स्टाफले उनलाई बल्लतल्ल सिट मिलाइदिए । त्यो सिटमा बस्नुपहिल्यै उनका आँखा नजिकै सकिनसकी उभिइरहेकी वृद्धा आमातिर मोडिए र तत्कालै उनलाई सिट छोडिदिइन् ।
दोलालघाटमा खाना खाएर बस चढ्दा उनलाई फेरि अर्को सिट मिलेको थियो । फेरि उनका आँखा भाँचिएको हातका साथ सिट नपाएर कष्ट बेहोर्दै गरेकी अर्की महिलामा गयो । उनलाई सिट दिँदै चामलको बोरामाथि बसिन् कोपिला ।
दोलालघाटमा चालकले बस स्टार्ट गर्न खोज्दा भएन । केही सीप नलागेपछि उनले यात्रुलाई बोलाएर बस ठेल्न लगाए ।
केहीबेरको यात्रापछि खहरेखोलाबाट देउरालीको उकालो लाग्दै गर्दा बसको ब्रेक फेल भयो र सोच्ने समय नपाउँदै बस भीरबाट गुल्टियो । कोपिला बसबाट उछिट्टिएर पछारिन पुग्दा केहीबेर उनका आँखामा अँध्यारो छायो ।
घाइतेहरूको कोलाहलले उनका आँखा खुले । आँखाअघि कोही टाउको नभएका, कोही हात नभएका, कोही रगताम्मे शरीर भएकाहरू थिए । नजिकै चामलको बोराले थिचिएकी उनकी गाउँले साथी प्रतीक्षा चौलागाईं 'मलाई बचाऊ कोपिला' भन्दै रोइरहेकी थिइन् । कोपिला उठ्न खोजिन् । पछारिएको शरीर उठाउन उनलाई पनि कठिन थियो । आफ्ना हातखुट्टा सद्दे नै भएको पाएपछि उनले आफूअघिका शवहरू छिचोल्दै प्रतीक्षामाथि थुप्रिएको चामलको बोरा उठाइन् ।
प्रतीक्षालाई उठाउन नपाउँदै कोपिलाका ठूलोबुबाका छोरा सुदर्शन गौतम चोटले कराइरहेको देखिन् र सकिनसकी दाइलाई पनि तानेर सजिलो ठाउँमा पुर्याइन् । असरल्ल परेको आफ्नो ब्यागमा भेटिएको ब्यान्डेज लगेर रगत बगिरहेकाहरूको शरीरमा बाँधिदिइन् । उनीहरूको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
बचाउन खोजे पनि फुपूको छोरा उमेशलाई उनले गुमाइन् । आफन्तहरूलाई उद्धार गरिसकेपछि उनको ध्यान आफूले सिट छाडेका आमाहरूमा गयो । उनीहरूको ज्यान गइसकेको थियो । चिच्याइरहेका अन्य घाइतेलाई पनि उनले सकिनसकी सजिलो ठाउँमा लगेर राखिन् । हस्याङफस्याङ गर्दै घाउँलेहरू घेरिए तर वास्तवमै उद्धार गर्ने मानिसहरू कम थिए ।
आफ्नो चोटको परबाह नगरी अर्धबेहोस अवस्थामा उद्धारमा खटिएका गाउँलेसँग मिलेर घाइतेलाई सहज बनाउँदै गरेको कोपिलालाई सम्झना छ । त्यसपछि उनलाई पनि अन्य घाइतेसँगै हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । अस्पतालमा ल्याएको केही समयपछि बल्ल उनी पूर्ण होसमा आएकी थिइन् ।
'त्यो दुर्घटना सपनाजस्तै लागिरहेको छ । म थिइनँजस्तो लाग्छ त्यो घटनामा', कोपिलाले अन्नपूर्णसँग भनिन्, 'सम्झियो भने पनि शरीर काँप्न थाल्छ ।' उनी त्यस्तो कहालीलाग्दो दुर्घटनामा आफू बाँच्नुमा बुबाआमालाई कारक मान्छिन् । भनिन्, 'म भाग्यमानी रहेछु । मेरा बुबाआमाले राम्रो काम गर्नुभएको थियो होला । सायद त्यसैले आज म यहाँ छु । अरूका छोराछोरी पनि बाँचेका भए कति खुसी हुन्थे होलान् ।' कोपिलाको भनाइ सुनेर नजिकै बसिरहेका उनका बुबा पनि मुस्काए र उनको हात समात्न पुगे ।
बाल्यकालदेखि बिरामीको सेवा गर्ने रहर पलाएपछि उनी काठमाडौं बसेर बबरमहलस्थित जनशक्ति विकास अनुसन्धान संस्थानमा अनमी अध्ययन गर्दै थिइन् । उनले पढाइ पूरा गर्न पाँच महिना बाँकी थियो । आफूले कुनै बेला चाहिएला भन्दै झोलामा राखेको ब्यान्डेज र गज आफूसँग यात्रा गरिरहेका घाइतेमा प्रयोग भएकोमा उनलाई सन्तुष्टि प्राप्त भएको छ ।
उनलाई दुःख छ ठेलमठेल गरेर बस चढ्नु परेको र बिग्रिएको बस जबर्जस्ती चलाएकामा । 'हाम्रो त बाध्यता हो त्यसैगरी घर जाने र आउने । बाटो त्यस्तै डरलाग्दो छ । बिग्रिएको बस हो भन्ने जानेर पनि हामीले बीच बाटोमा ओर्लने आँट गर्न सकेनौं । हामीसँग अर्को विकल्प पनि थिएन', उनले भनिन् । पटकपटक बिग्रने गरेको बसमा पैसाका लागि जबर्जस्ती यात्रु बसाउने र सकीनसकी बसभित्र कोचिने यात्रु स्वयंको पनि गल्ती भएको कोपिलाको अनुभव छ ।annapurnapost
0 comments
Write Down Your Responses