मधेसी मोर्चाको निर्णयले ‘प्रचण्ड’लाई झट्का
काठमाडौं, ८ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएको असोज ३ गतेलाई कालो दिवसका रुपमा मनाउने निर्णय गरेको छ । काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा बुधबार बसेको मधेसी मोर्चाको बैठकले असोज ३ गतेलाई कालो दिवसका रुपमा मनाइ ब्ल्याक आउट गर्ने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी
दिनुभयो । ‘नयाँ संविधानले मधेसी, जनजाति र आदिवासीका मागलाई सम्बोधन गरेको छैन’, उहाँले भन्नुभयो, ‘संविधानमा हाम्रो असहमति रहेकाले संविधान जारी भएको दिन आसोज ३ गतेलाई कालो दिवसका रुपमा मनाउने निर्णय भएको छ ।’ भदौको अन्त्यसम्म संविधान संशोधनका लागि सरकारले तयारी गरिरहेका बेला मधेसी मोर्चाको यस्तो निर्णयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झट्का लाग्न सक्नेछ । मधेसी मोर्चाले तीन बुँदे सहमति कार्यान्वयनका लागि दबाब दिने निर्णय गरेको छ । त्यसका लागि प्रधानमन्त्री दाहालसँग मधेसी मोर्चाका शीर्ष नेताहरूले बिहीबार वा शुक्रबार भेट गरेर संविधान संशोधनको प्रस्तावलाई अगाडि बढाउन दबाब दिने छन् । रामसपाका महासचिव झाका अनुसार तीन बुँदेको दोस्रो बुँदामा रहेका शहीद घोषणा हुन बाँकी, घाइतेको उपचार खर्च, क्षतिपूर्ति, न्यायिक आयोगको पूर्णता, राजनीतिक मुद्दा फिर्ताका लागि मधेसी मोर्चाका तर्फबाट २/३ जना सदस्य पठाएर फाइल आफै अगाडि बढाउने निर्णय पनि भएको छ । त्यसका लागि गृहमन्त्रीसँग बिहीबार नै कुरा गर्ने झाले बताउनुभयो ।dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses