मधेसमा कठोर आन्दोलन गर्ने महतोको चेतावनी
मधेसी सभासद्ले नै मधेस आन्दोलनलार्इ धोका दिएवीरगन्ज : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीन दलबाट जवरजस्ती संविधान जारी गरिए मधेसमा कठोर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
मधेसी जनता र थारुका मागको सुनुवाइ नगरी ल्याएको संविधान आफूहरुले नस्वीकार्ने चेतावनी दिँदै महतोले तीन दलविरुद्ध अब कठोर आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
‘कांग्रेस, एमाले र एमाओवादीका मधेसी सभासद्कै कारण तीन दलले बहुमतको आडमा मधेसविरोधी संविधान बनाउन लागेका छन्’, वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘तीन दलका मधेसी सभासद्ले विद्रोह गरेको भए मधेसविरोधी संविधान कदापि बन्ने थिएन । तीन दलले बनाउन लागेको संविधानबाट मधेसी र थारुले केही पाउँदैनन् ।’
उनले ठूला तीन दलका मधेसी सभासद्ले पनि मधेसी जनतालाई धोका दिएको आरोप लगाए । मधेसीकै भोटले जितेका कांग्रेस, एमाले र एमाओवादीका सभासद्हरुले अधिकार पाउने बेलामा मधेशीको घाँटी रेट्ने काम गरेको उनको भनाइ थियो ।
‘अहिले पनि २४ घण्टा बाँकी छ । तीन दलका मधेसी सभासद्लाई संविधानसभा छाडेर आउन मधेशी जनताले दबाब दिनुपरो’, उनले भने, ‘मधेस विरोधी संविधान बनाउने कांग्रेस, एमाले र एमाओवादीका मधेसका सभासद्लाई जनताले तह लगाउनेछन् ।’
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मधेसी सभासद्हरुले समेत सदन छाड्ने हिम्मत नदेखाएका कारण मधेस आन्दोलन कमजोर भएको उनको भनाइ छ ।
‘मधेसको नाममा राजनीति गर्ने एमाले र कांग्रेसका सभासद्हरुले कुर्सी र मन्त्रीको लोभमा विद्रोह नगर्दा समस्या उत्पन्न भयो’, उनले भने, ‘जनताले अब उनीहरुलाई देखाउने छन् धोका भनेको के हो ?’
मधेस आन्दोलनमा सहयोग गर्न आफूहरुले छिमेकी भारत र संयुक्त राष्ट्र संघलाई आग्रह गरेको उनले स्पष्ट पारे ।
विगतका सहमति र सम्झौतालाई लत्याएर खसबासी तीन ठूला दलले बन्दुक र बहुमतको आडमा जारी गरेको जनविरोधी संविधान लागू हुन नसक्ने उनको भनाइ छ ।
www.annapurnapost.com


0 comments
Write Down Your Responses