टोकियोमा भूकम्प, ११ जना घाइते
प्रधानमन्त्री सिन्जो आबे बाढी प्रभावित क्षेत्रमाजोसो सिटी, २६ भदौ । जापानको राजधानी टोकियोमा भूकम्पको धक्का महसुश भएको छ। शनिबार बिहान टोकियोमा ५.४ रेक्टर स्केलको भूकम्प आएको हो। भूकम्पबाट त्यस्तो कुनै क्षति पुगेको विवरण तत्कालका लागि नआएको टोकियो अग्नि नियन्त्रण विभागका एकजना अधिकारीले जनाएका छन् ।
उनका अनुसार सो भूकम्पबाट ११ जना घाइते भएका प्रारम्भिक सूचनामा जनाइएको छ। भूकम्पको धक्काले टोकियोका घरहरु निकै हल्लाएको स्थानीय नागरिकले जनाएका छन् ।
यसैबीच जापानको राजधानी टोकियोबाट उत्तरतर्फ पर्ने जोसो नगरमा बाढीका कारण जनधनको ठूलो क्षति पुर्याएपछि जापानी प्रधानमन्त्री सिन्जो आबे आफै प्रभावित क्षेत्रको पुगेका छन्। उनी शनिबार बिहान सो क्षेत्रमा पुगेका हुन्। सो बाढीका कारण कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु कयौँ व्यक्ति हराइरहेका छन् ।
उक्त नगरको किनुगावा नदीमा पानीको मात्रा बढ्दै गएपछि सरकारले ठूलो सङ्ख्याका उद्वारकर्मी खटाएको छ । एक दर्जनभन्दा बढी नागरिक अझैपनि हराइरहेको बताइएको छ । उक्त नगरका ६५ हजार जना व्यक्ति त्यहाँबट बिस्थापित भएका छन् । उनीहरुलाई अन्यत्रै सारिएको छ भने उक्त क्षेत्रमा बाढीको थप खतरा रहेको भन्दै सतर्कता अपनाइएको छ ।
बाढीका कारण उक्त नगरमा पूर्ण रुपमा क्षति पुगेको छ भने अरु पनि कयौँ संरचनाहरु ध्वस्त भएका छन् । उक्त नगरको पुनर्निर्माणको आवश्यकता रहेको स्थानीयहरुले जनाएका छन् । उनीहरुले आफूहरुले जीवनमा यस्तो विपत्ती कहिल्यै पनि नदेखेको जनाएका छन् । यस्तो बाढी सो क्षेत्रमा यसअघि कहिल्यै पनि नआएको उनीहरुको अनुभव छ । शुक्रबारबाट भने सो क्षेत्रमा पानीको मात्रा घट्दै गएको छ। रासस/एएफपी


0 comments
Write Down Your Responses