कर्फ्यू तोड्दा गौरमा गोली चल्यो, दुई घाइते
रौतहट : स्थानीय प्रशासनले लगाएको कर्फ्यू तोडेर गौरमा प्रर्दशन गर्न खोज्दा प्रहरीले चलाएको गोली लागी दुइ जना प्रर्दशनकारी गम्भीर घाइते भएका छन् ।

आइतवार दिउँसो गौरस्थित कविर चौकमा भएको झडपमा प्रहरीको गोली लागेर गौर नगरपालिका–६ का लालबाबु पटेल र अकोलवा गाविस–७ का ३९ शेष मैरुद्धिन गम्भीर घाइते भएका छन् ।

उनीहरुको जिल्ला अस्पताल गौरमा उपचार भैरहेको छ । निषेधित क्षेत्रमा प्रवेश गरी प्रर्दशन र सुरक्षाकर्मीलाई ढुंगा हान्न थालेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

स्थानीय प्रशासनले गौर नगरपालिका क्षेत्रभित्र अर्को सूचना जारी नहुँदा सम्म दिउँसो १२ बजे देखि कर्फ्यू जारी गरेको थियो ।

गौर नगरपालिकाको बरहवा पुल, पश्चिममा टिकुलिया, उत्तरमा नयाँ बसपार्क गढवा र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।

गौर बजार छिर्ने नाकाहरुमा सुरक्षाकर्मीले निषेधित क्षेत्र घोषणा गरेको सूचना टाँसेको थियो ।

मधेसी मोर्चा र राष्ट्रिय मुस्लिम संघर्ष समितिको गठबन्धनले गौरमा आइतवार बृहत्त जुलुस प्रर्दशन गर्ने कार्यक्रम राखेपछि प्रशासनले कफ्र्यू लगाएको थियो । annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses