संविधान निर्माण अगाडि बढेपछि के गर्दैछन् मधेसी र जनजाति ?
काठमाडौं, २८ भदौ । संघीय प्रदेशको सिमाङ्कनमा असन्तुष्टि जनाएर सडकमा आन्दोलनमा गएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ रणनीति बनाउने योजनामा पुगेको छ ।प्रमुख दलहरू कांग्रेस, एमाले र एकीकृत माओवादीसहितका दलहरू मिलेर संविधानसभाबाट नयाँ संविधान जारी गर्ने पक्षमा दृढताका साथ प्रक्रियामा गएपछि मधेसी मोर्चाले थप नयाँ रणनीति बनाउने पक्षमा पुगेको हो । मोर्चाले त्यसको तयारी पनि सुरु गरेको जनाएको छ ।
दैनिक नेपालसँग कुरा गर्दै सद्भावना पार्टीका महासचिव मनीष सुमनले प्रमुख तीन दलले मधेसी दलहरूका मागलाई वेवास्ता गर्दै संविधान निर्माणको प्रक्रिया अगाडि बढाएकाले अब आफूहरूले पनि आन्दोलनलाई त्यही ढङ्गले अगाडि बढाउने बताउनुभयो । ‘मधेसी दलका मागको सुनुवाई भएन’, उहाँले भन्नुभयो, ‘ठूला तीन दलले गम्भीर धोका दिएका छन् ।’
उता, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आदिवासी जनजातिका मागलाई सम्बोधन नगरेर ल्याइने संविधानको औचित्य नरहेको बताउनुभएको छ । ‘संविधानका लािग एक थान संविधान निर्माणको कार्य भएको छ’, सहअध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘सेना परिचालन गरेर युद्धकालीन अवस्थामा जस्तो गरी जारी गरिने संविधान टिकाउन हुँदैन ।’
उहाँले सबै उत्पीडित समुदायका अधिकार सुनिश्चित हुने पर्ने माग गर्नुभयो । ‘आन्दोलन जारी रहन्छ’, सहअध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अधिकार विहीन संविधान मान्ने पक्षमा छैनौ ।’
मधेसी मोर्चाले संविधान जारी भएको अर्को दिन त्यसको प्रति जालउने योजना बनाएको छ । सद्भावनाका महासचिव सुमनले मधेसीको अधिकार विना आउने संविधान जलाउने चेतावनी दिनुभयो ।
dainiknepal.com


0 comments
Write Down Your Responses