जसलाई विहे हुँदैन भनेर राजनीति गर्न दिइएन ती सभासदको विहेपछिको पहिलो तीज कथा
अनिता देवकोटा, सभासद, नेपाली कांग्रेस
आज (बुधबार) नेपाली हिन्दु महिलाहरूको महान चाढ तीज अर्थात हरितालिका विषेश महत्वका साथ मनाइँदैछ । महिला दिदीबहिनीहरूले मनाउने यो पर्वको आफ्नै महत्व छ । दाङ जिल्लाबाट राजनीति गर्दै आउनु भएकी कांग्रेस नेतृ एवम् सभासद् अनिता देवकोटाको तीजका सम्बन्धमा आफ्नै अनुभव छन् ।
तीजलाई विशेष महत्वको पर्व मान्नुहुने देवकोटाका लागि यो पटक अझैँ विशेष हुने भएको छ । उहाँ अहिले तीजमा रमाइलो गर्नुभन्दा पनि मुलुकको लागि संविधान निर्माणमा जुट्नु भएकाले उहाँलाई तीन विशेष महत्वको लागेको हो ।
सबै दिदीबहिनीहरू मिठो खानाखाने, नाचगान गर्ने, आफन्तसँग भेट्ने, परिवारसँग भेट गर्ने कार्य गरीरहेका बेला कांग्रेस नेतृ एवम् सभासद देवकोटा नयाँ बानेश्वरस्थित संविधानसभा भवनभित्र बसेर संविधनको परिमार्जित विधेयकमाथिको निर्वाचन प्रक्रियामा ‘हुन्छ र हुन्न’ भनेर बस्नुभएको छ । यसै क्रममा दैनिक नेपाल डटकमका लागि हाम्रा सहकर्मी विमल योगीले देवकोटासँग गर्नुभएको कुराकानी जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ ।
– अनिता देवकोटा, सभासद, नेपाली कांग्रेस
मैले २०३६ सालदेखि राजनीति सुरु गरेको हुँ । २०४२ सालमा सत्याग्रहको बेला प्रहरीले मलाई वारेन्ट काटिएको थियो । त्यही बेला मेरो विवाह हुँदै थियो । मलाई (दुलही) लिन जन्ती (बेहुला) आएका थिए । तर म वारेन्टबाट बच्न भोगेको थिए । वारेन्टभरि दिदीको घरमा तीन/चार महिना भूमिगत भएर बसे । त्यसपछि ०४२ सालमै विवाह पनि भो । घरमा जन्ती आएको बेला सत्याग्रह थियो ।
म कांग्रेस केटी भनेर विहेको प्रस्ताव आयो । निर्मल देवकोटा पनि कांग्रेस केटो । कुरा मिलेपछि प्रस्ताव आयो । मेरो विहे उहाँसँग भयो । विहेको प्रस्ताव आएपछि मैले पनि स्वीकार गरे । विहेमा हाम्रो कार्ड पनि छापिएको थिए । माग्न उहाँले प्रस्ताव पठाउनुभएको हो । भेषराज पौडेलबाट विहेको प्रस्ताव पठाइएको थियो । कांग्रेस हो पढेलेखेको केटो राम्रो छ भनेका थिए सबैले । मैले स्वीकारे । मेरो विहे सोँचे जस्तो धुमधामका साथ हुन सकेन ।
विवाह भएर गइसकेपछि पनि माइततिरबाट राजनीतिमा नजान दवाव थियो । तर मेरो मनले कहाँ मान्थ्यो र । राजनीतिमा लागीरहे । मैले नेविसंघबाट राजनीति सुरु गरेकी हुँ । राजनीतिमा लागेर कहिले काँही घर आउन ढिला हुँदा सरले एक पिरियड बढी पढाउनु भो भने ढाँट्थे ।
विवाहपछि भने अहिले सहज भो राजनीति गर्न । २०४६ सालपछि भने अझैँ सहज भयो । पछि झन् सक्रिय राजनीति गरे ।
माइतीमा राजनीति नगर भनेर बाबाले दवाव दिइरहनुहुन्थ्यो । हामी धेरै बहिनी छोरी राजनीतिमा लागे विहे हुँदैन भन्ने बुबालाई डर थियो । बाबाले सामाजिक संरचनाभित्र बाँध्न खोज्नु भएको थियो । तर म लुकीलुकी राजनीतिक कार्यक्रममा जाने गर्थे । एकातिर समाज र पुलिसको घेरा । त्यहीभित्र कार्यक्रम गथ्यौँ । हामीले पढ्ने क्रममा ‘नयाँ आलोक’ भन्ने पत्रिका पनि निकालेका थियौँ ।
त्यतिखेरका मेरा सहपाठी चिन्तामणि योगी, एमालेका नेता शंकर पोखरेल, भानुभक्त आचार्य, मेनका पोखरेल (एक व्याज अगाडि) हुन् । हामी सबैले सँगै राजनीतिक सुरु गरेका हौँ ।
विवाह भएको धेरैपछि माइत जाने मौका पाए । सबैसँग भेटघाट भो । विवाहपछि माइत गइयो । तीजमा सबैसँग भेटघाट हुने भएकाले पनि मलाई तीज मनपर्छ । अनि जागरणका कुराहरु गर्ने । नाचगान गर्ने । सबभन्दा ठूलो कुरा आफन्तसँग भेट गर्ने हुन्थ्यो । मेरो माइत दाङ जिल्लाको मानपुर गाविस जन्द्रागाउँमा हो ।
विहेपछि पहिलो पटक माइत गएका बेला दरखान काकाको घरमा बोलाउँथे । खान गइयो । रमाइलो भयो । सबैसँग भेट हुन्थ्यो । गाउँघरका साथीहरु मिलेर पातीको गौरा बनाएर पूजा गर्ने । ब्राम्हण ल्याउने चलन थियो । अहिले त्यो चलन परिवर्तन भो । मान्छेले अहिले भ्याउँदैनन् । गर्दैनन् पनि । तीजको परम्परा विकृतिका रुपमा बढेको जस्तो मलाई लाग्न थालेको छ । यो सामाजिक पर्वलाई सबैले आआफ्नो गच्छअनुसार मनाउनुपर्छ ।
सानैदेखि ब्रत बसियो । सानोमा फलफूल खान पाइन्छ । चिनीपानी खानपाइन्छ भनेर सानो उमेरका बेला ब्रत बसिन्थ्यो । सुरुसुरुमा सानोमा खान पाइन्छ भनेर ब्रत बसियो । पछि सामाजिक रुपमा ब्रत बसियो । विहे भएपछि श्रीमान् र सामाजिक सद्भावका लागि ब्रत बसियो ।
दरखानाले मान्छेहरूलाई एकाकार गराउँदो रहेछ । तीजको कथा सुन्ने बेला हाम्रो संघर्षको अधिकारको प्राप्तिको दिन हो भन्ने लाग्यो ।
छोरीलाई बाबाले जसलाई सोँच्यो त्यसलाई दिने । विहे गरिदिने परम्पराविरुद्ध पनि तीजलाई बुझ्नु पर्छ । त्यसैलाई श्रीमानलाई मान्नुपर्ने । मन परोस्–नपरोस् । पार्वतीले बाबुविरुद्ध विद्रोह गरेर आफूले चाहेको पति पाउनुपर्छ भनेर विष्णुलाई अस्वीकार गरी शिवसँग विहे गरेको धार्मिककथाले महिलालाई आफ्नो अधिकारका लागि विद्रोह गर्न सिकाएको छ । यो कथाको महत्वलाई गहिराइमा गरए बुझ्नुपर्छ । यो तीज महिला अधिकारको पर्व पनि हो । धार्मिक कथाहरूले त्यसलाई इँङगित गर्छ ।
dainiknepal.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses