बाम र लोकतान्त्रिक शक्ति मिल्नुपर्छ : पहारी
चितवन : युवा सङ्घका अध्यक्ष राजिब पहारीले बाम र लोकतान्त्रिक शक्ति मिलाउने काममा आफ्नो नेतृत्वले भूमिका खेल्ने बताएका छन् ।
युवा सङ्घ चितवनले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष पहारीले आन्दोलनमा सङ्गठित भए झै विकास निर्माणमा पनि कम्युनिष्ट पार्टीबीचमा कार्यगत एकताका लागि दबाब दिने बताए ।
आफूले सङ्घको नेतृत्व लिएलगत्तै यसका लागि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेको भन्दै उहाँले अब अन्य कम्युनिष्ट घटकका नेतृत्वसँग भेटघाट गरी एकताको पक्षमा पहल गर्ने उल्लेख गरे ।
विगतका आन्दोलनमा एक जुट भएझै आउदो दश वर्षसम्म देश विकासका लागि एक जुट हुन आफूले नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई समेत भेटेर आग्रह गरेको उनले बताए ।
भारतीय नाकाबन्दीको आलोचना गर्दै उनले राष्ट्रिय स्वाधिनतालाई तेल र फास्टट्र्याकसँग सम्झौता नगर्न सरकारलाई खवरदारी गर्दै युवा सङ्घले यसको विरुद्धमा चार लाख हस्ताक्षर सङ्कलन गरिसकेको बताए ।
परनिर्भरतालाई अन्त्य गर्दै आत्म निर्भरतालाई प्रश्रय दिनुपर्ने भन्दै उनले युवा शक्ति उत्पादनमूलक कार्यमा लाग्नुपर्नेमा जोड दिए ।रासस
www.annapurnapost.com


0 comments
Write Down Your Responses