कमल थापाको कुराले आश्चर्य चकित भए मधेसी नेता
काठमाण्डु, ७ कात्तिक– सरकारले तराई–मधेसमा आन्दोलनरत पक्षसँग वार्ता गर्न उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
राप्रपा नेपालका अध्यक्षसमेत रहेका थापा संघीयताविरोधी अभियानका प्रखर व्यक्तित्व हुन् । तर सरकारले उनैलाई त्यससम्बन्धमा वार्ता गर्ने जिम्मेवारी दिएकामा धेरैलाई आश्चर्य लागेको छ ।
अरुलाई आश्चर्य लाग्नुलाई त अस्वभाविक मान्न सकिएन । तर थापा आफैं आश्चर्यमा परेका रहेछन् । केही दिनअघि मधेसी मोर्चासँग भएको वार्ताका क्रममा थापाले सिमांकन विवाद टुंगाउने जिम्मेवारीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता टोली संयोजक बनाएकामा आश्चर्य प्रकट गरेका हुन् ।
‘तपाईंहरुलाई जानकारी छँदैछ म संघीयताको विरोधमा छु’, थापाको भनाइ उद्धृत गर्दै तमलोपा सह–अध्यक्ष हृदयेश त्रिपाठीले काठमाण्डु टुडेसँग भने, ‘म आफैं आश्चर्यमा परेको छु, के गर्नु जिम्मेवारी त पुरा गर्नैप¥यो ।’
थापाको अभिव्यक्तिले आफूहरु आश्चर्यचकित हुनुका साथै मधेसको मागबारे सरकार गम्भीर छैन भन्ने पुष्टि भएको त्रिपाठीको भनाइ छ ।
हालै अनिल झा नेतृत्वको संघीय सदभावना पार्टी परित्याग गरेकी नेतृ सरिता गिरी पनि संघीयताको उपहास गर्न र मधेस मुद्धालाई अपमान गर्न सरकारले संघीयताविरोधी व्यक्तिको नेतृत्वमा वार्ता टोली बनाएको बताउँछिन् । गिरीले थापाको नेतृत्वमा हुने वार्ताले निकास नदिने दाबीसमेत गरिन् ।
‘सबैलाई थाहा भएकै कुरा हो, कमल थापा संघीयताको कुरै सुन्न नचाहने मानिस हुन्’, गिरीले भनिन्, ‘उनैलाई वार्ता टोली संयोजक बनाएर सरकारले संघीयता पक्षधरलाई गिज्याउने काम गरेको छ ।’
kathmandutoday.com


0 comments
Write Down Your Responses