मोदीले आज पनि मधेसी मोर्चाका नेताहरूले भेट्न मानेनन्, यस्तो छ कार्यसूची
काठमाडौं, २२ मंसिर । भारत भ्रमणमा रहेका मधेसी मोर्चाका शीर्ष नेताहरूले आज (मंगलबार) पनि राजनीतिक भेटवार्ता र परामर्शहरू गर्ने कार्यसूची रहेको छ । व्यस्त कार्यसूचीमा भारतीय प्रधनमन्त्री नरेनद्र मोदीलाई भेट गर्ने कार्यक्रम भने छैन ।सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका सहयोगी उपेन्द्र महतोका अनसार आज बिहान साढे १० बजे भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गर्दैछन् । डोभलले नेपालको तराई मधेसमा जारी मधेस आन्दोलनलाई उचालेको आरोप छ । डोभल प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार हुन् ।
भेटमा मधेसी मोर्चाका नेताहरूले मधेस आन्दोलन र भारतले नाकाबन्दी लगाइ आफूहरूको आन्दोलनमा समर्थन गरेको विषयमा छलफल गर्ने बुझिएको छ ।
डोभालसँगको भेटवार्तापछि मधेसी मोर्चाका शीर्ष नेताहरूले मध्यान्ह १२ बजे भारतीय बिदेश सचिव एस.जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । एस. जयशंकर पनि नेपालमा आइ राजनीतिक दलहरूलाई संविधान तत्काल जारी नगर्न दवाव दिने व्यक्ति हुन् ।
त्यसै गरी मधेसी मोर्चाका नेताहरूले ३ बजे ओआरएफद्वारा आयोजित अन्तरक्रियामा सहभागी हुनेछन् ।
छलफल अन्तर्गत बेलुका साढे ७ बजे जहवार लाल नेहरु विश्व विद्यालयका पूर्व विद्यार्थीको समूह तराई मधेश स्टडी ग्रुपले पनि अन्तरक्रिया राखेको छ । अन्तरक्रियाको अध्यक्षता प्रो.एस.डी. मुनीले गर्ने छन् । कार्यक्रममा मधेसी मोर्चाका चार शीर्ष नेताहरू प्रमुख वक्ताका रुपमा रहेका छन् ।
अन्तरक्रियाको अध्यक्षता गर्दै गरेका प्रो.मुनी एमाओवादीका पूर्व नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका गुरु हुन् । मुनी समय समयमा नेपाल आइ विभिन्न समूहलाई नेपालीविरुद्ध उचाल्ने गर्ने गरेको आरोप छ ।
विगत साढे तीन महिनादेखि तराई मधेसमा आन्दोलन गर्दै आएका मधेसी मोर्चाका नेताहरू तीन दिनदेखि भारतको राजधानी नयाँदिल्लीमा मधेस आन्दोलनका विषयमा भारतीय नेता, मन्त्री र विभिन्न व्यक्तिहरूसँग भेटवार्ता गर्दै आएका छन् ।
भारतीयहरूसँग भेट गर्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव नयाँदिल्ली जानु भएको हो ।
dainiknepal


0 comments
Write Down Your Responses