खुला सिमानाले कस्तो बनाउँदैछ अर्थतन्त्र ?

भारतको अघोषित नाकाबन्दीले जनताको दैनिकीसंगै  देशको अर्थतन्त्रमा ठूलो असर पारेको छ। भारत र नेपालबीचको खुला सिमाका कारण नाकाबन्दीले देशमा तस्करी बढेको छ।
खुला सिमाका कारण भारतबाट अबैध रुपमा सामान भित्रिँदा जनताको दैनिक जीवनयापन  केही सहज भए पनि देशको अर्थतन्त्रमा भने ठूलो धक्का लागेको छ।

नाकाबन्दी भएपछि तस्करहरुले अहिले पेट्रोलियम पदार्थ तथा ग्यासको आयातलाई आफ्नो   व्यवसाय बनाएका छन्। तस्करले अवैध रुपमा सामान भित्र्याउँदा देशले ठूलो मात्रामा राजश्व गुमाउनु परेको छ।

देशको कुल राजस्व मध्ये ६० प्रतिशत राजस्व भन्सारबाट नै प्राप्त हुने गर्दछ। नेपाल राष्ट्र बैंकका अनुसार गत मंसिरसम्ममा सरकारको राजस्व संकलन २० दशमलव ६ प्रतिशतले घटेर  १ सय १२ अर्ब ८१ करोडमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व २४ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो।

‘भन्सार नाकामा भएको अवरोधका कारण आयातमा संकुचन आउनाले इन्धन लगायत आवश्यक सामग्रीको अभावमा आर्थिक गतिविधिमा शिथिलता आएकोले मूल्य अभिवृद्धि कर, भन्सार राजस्व, अन्तःशुल्क, आयकर लगायतका कर संकलनमा कमी आएको छ’ राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक रिपोर्टमा उल्लेख गरिएको छ।

तस्करी बढेपछि भारतको भने नेपालमा अवैध तरिकाले सामान भित्रदै आएको छ। अवैध रुपमा भएपनि सामान निर्यात हुँदा भारतको व्यापारमा भने खासै असर नपर्ने अर्थविद पोषराज पाण्डे बताउँछन्।

नाकाबन्दीको बेलामा तस्करी बढ्नुको प्रमुख कारण खुला सिमा  रहेको पाण्डेको भनाई छ। बजारमा  पेट्रोलियम पदार्थको माग उच्च भएको छ। जसका कारण राम्रो मुनाफा आर्जन गर्न सकिने भएपछि तस्करहरु अहिले उच्च जोखिम मोलेर यो कार्य गरीरहेको पाण्डेले बताए।

खुला सिमा नभएका देशहरुमा नाकाबन्दी हँुदा यसरी चरम तस्करी नहुने पाण्डेले जानकारी दिए। नाकाबन्दीपछि देशमा अवैध व्यापारले बढावा पाएको छ। नाकाबन्दीका कारण देशका उपभोक्ता मारमा परेका छन्। ग्राहकहरुले उच्च मूल्य तिरेर सामान खरिद गर्नुपरेको छ। नाकाबन्दीको बेलामा पनि  भारतको भने नेपालतर्फ व्यापार चलिरहेको छ।

पाण्डेले अवैध रुपमा तस्करीहरुले तेलको व्यापार गरिरहेका कारण भारतको नेपाल तर्फको तेल व्यापारमा ठूलो असर नदेखिने बताउँछन्। नाकाबन्दीको कारण भारतको व्यापारमा खासै कमी नआउने र यसबाट तस्करले भने उच्च मुनाफा कमाउने अर्थविद पाण्डेको तर्क छ। नाकाबन्दीको समयमा पेट्रोलियम पदार्थको तस्करी बढ्दै जाँदा यसको जालो समेत बढ्दै जान सक्ने पाण्डेको आँकलन रहेको छ।

‘खुला सिमाको कारण भारतको अवैध रुपमा भएपनि तेलको व्यवसाय भएको छ, उपभोक्ता चर्काे मूल्य तिर्न बाध्य छन् तर तस्करले यसबाट ठूलो रकम आर्जन गरिरहेका छन्।’ पाण्डेले भने।  त्यस्तै नेपाल राष्ट्र बैंकको रिसर्च डिपार्टमेन्टका प्रमुख  नरबहादुर थापा भने देशमा अवैध रुपमा सामान भित्रदा राजस्वमा ठूलो असर परेको बताउँछन्। खुला सिमा र देशमा पेट्रोलियम पदार्थको अभावका कारण सरकारले तस्करीमा कडाई गरेको छैन। जसका कारण तराई क्षेत्रमा पेट्रोलियम पदार्थको अवैध रुपमा आयात भएको छ।

अवैध रुपमा सामान भित्रदा तराई क्षेत्रका मानिसहरुको दैनिकी कष्टकर हुनबाट बचे पनि सेवाबाट भने नागरिक वञ्चित हुनुपर्ने अवस्था उत्पन्न भएको उनको भनाई छ। बैधानिक रुपमा देशमा कैयन सामान भित्रन सकेको छैन। जसको कारण कृषि क्षेत्र बाहेक अन्य क्षेत्रले कुल ग्रार्हस्थमा दिने योगदानमा गिरावट आउने थापाले बताए। देशमा पेट्रोलियम पदार्थको सहज रुपमा आपुर्ति हुन नसकेपछि सेवा क्षेत्र र पर्यटन क्षेत्रमा ठूलो असर पर्नुका साथै विकासका आयोजनाहरु ठप्पै छन्।

त्यस्तै राजनैतिक मुद्दाका कारण आर्थिक क्रियाकलाप  र व्यापार नै बन्द गर्नु भारतको  गैह्रजिम्मेवारपूर्ण कार्य भएको अर्थविद बिश्वाम्भर प्याकुरेलको भनाई छ। अन्य देशहरुबीच राजनैतिक मुद्दामा बिमती भए पनि व्यापार भइरहेको उनी बताउँछन्। प्याकुरेल भन्छन् ‘देश आत्मनिर्भर हुन नसकेको, राजनैतिक दलका नेता अदुरदर्शि र असक्षम भएका कारण राजनैतिक कुरालाई लिएर भारतले व्यापार नै बन्द गरेको छ।’

नेपालको सिमा क्षेत्रमा धेरै वर्ष अघिदेखि नै भारतबाट अवैधानिक रुपमा केही सामानहरु आयात हुने गरेको भए पनि नाकाबन्दीपछि भने यो धेरै चुलिएको उनको भनाई छ। अवैधानिक रुपमा हुने व्यापारले देशको अर्थतन्त्रमा ठूलो असर पार्नेमा कुनै दुई मत नरहेको उनको भनाई छ।

अनौपचारीक तथा अवैध रुपमा आयात  हुँदा नेपालको मात्रै नभई भारतको अर्थतन्त्रमा समेत असर पर्ने उनको आँकलन रहेको छ। उनले भने ‘भारतले निर्यात गरेको बस्तुको आँकडा नहुँदा त उसको अर्थतन्त्रमा पनि असर गर्छ, अवैधानिक रुपमा आयात हुँदा त्यसमा संलग्न भारतीय व्यवसायीलाई मात्रै नाफा हुन्छ।’ etopati
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses